Skip to content
Prabhu

अमेरिका पठाउने भन्दै ४ करोड ठगी अभियोगमा नारायणकुमार खड्का पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने भन्दै ३ करोड ३३ लाख ६८ हजार एक सय १२ रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ गरी परेका अभियुक्त सोलुखुम्बको सोलु दूधकुण्ड नगरपालिका–११ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ पुरानो सिनामङगल टाउनप्लानिङ (पेप्सीकोला) बस्ने ४६ वर्षीय नारायणकुमार खड्का छन् ।

पक्राउ परेका खड्काले विभिन्न व्यक्तिलाई रोजगारीका लागि अमेरिका पठाई दिन्छु भनी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको जाहेरी प्रहरीमा दर्ता भएको थियो । उक्त ठगीमा संलग्न व्यक्तिलाई पक्राउ तथा खोजतलास गरी पाऊँ भनी दुर्गाबहादुर वली र कमला डाँगी बस्नेतले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका निज नारायणकुमार खड्काको ज्योति विकास बैंकको खातामा ४ करोड ३३ लाख ६८ हजार एक सय १२ दशमलव ५५ पैसा विभिन्न व्यक्तिले जम्मा गरेको देखिएको छ । अमेरिका लैजाने प्रलोभन देखाएर पीडितलाई घानासम्म पुर्याइ अलपत्र बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । अमेरिका र युरोपको सपना देखाएर प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म असुलेको प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई निजलाई विशेष टोलीले कञ्चनपुर भिमदत्त नगरपालिका–११ गड्डा चौकीबाट सोमबार पक्राउ गरी काठमाडौं ल्याएको हो ।

ठगीमा पर्ने मध्येका जाहेरवाला कमला डाँगी बस्नेतले विभिन्न मितिमा ३८ लाख ३५ हजार रुपैयाँ र दुर्गाबहादुर वलीले विभिन्न मितिमा आठ लाख २० हजार रुपैयाँ रकम जम्मा गरेको पाइएको प्रहरीले जनाएको छ । निजले अमेरिका पठाउने भन्दै हालसम्म करिब आठदेखि १० जना व्यक्तिबाट रकम लिएको र युरोप पठाएबापत प्रतिव्यक्ति आठदेखि दश लाख रुपैयाँसम्म रकम लिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अभियुक्त नारायणकुमार खड्काको खातामा जम्मा भएको रकममध्ये ४ करोड ३२ लाख २६ हजार एक सय एक दशमलव ७३ पैसा झिकी सकेको र हाल खातामा एक लाख ४२ हजार पाँच दशमलव ८२ पैसा मौज्दात रहेको प्रमुख भट्टराईले जानकारी दिए ।

पक्राउ परेका खड्कालाई विभिन्न कार्यालयबाट आठवटा बैंकिङ कसुर र एउटा ठगी मुद्दा (जम्मा बिगो ७८ लाख ८८ हजार रुपैयाँ बिगो बराबर) चलेको देखिएको प्रहरीले जनाएको छ । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal