Skip to content
Prabhu

नेप्से परिसूचक घट्दा राज्यलाई घाटा, १० वर्षमा ३९ अर्ब बढी पुँजीगत लाभकर संकलन

 

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा सरकारले सेयर बजारबाट पुँजीगत लाभकरबापत १५ अर्ब ५३ करोड रुपैयाँ प्राप्त गर्योे । सरकारले पुँजीगत लाभरबापत प्राप्त गरेको यो अहिलेसम्मकै उच्च राजस्व हो । त्यस पछिका समयमा लगातार रूपमा सेयर बजारबाट संकलन हुने पुँजीगत लाभकर घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ भन्दा पहिला पनि पुँजीगत लाभकर त्योभन्दा बढी संकलन भएको थिएन् । आर्थिक वर्ष २०७७/७८ को अन्तिममा नेप्से परिसूचक २८८३ दशमलव ४१ विन्दुमा पुगेको थियो । नेप्से परिसूचक आर्थिक वर्षको अन्तिमको तथ्यांकअनुसार सो समयको नेप्से परिसूचक पनि अहिलेसम्मकै उच्च विन्दु हो ।

त्यो आर्थिक वर्षमा सेयर बजार परिसूचक ३००० विन्दुभन्दा माथि पुगेको थियो । तर, आर्थिक वर्षको अन्तिममा आइपुग्दा नेप्से २८८३ विन्दुमा पुगेर रोकियो । नेप्से परिसूचक त्यसपछिका वर्षहरुमा त्यो विन्दुको आंकडामा कहिले पनि पुग्न सकेको छैन । त्यसभन्दा अघिको तथ्यांक हेर्दा नेप्से परिसूचक झन् २००० विन्दुभन्दा तलै थियो ।

धितोपत्र बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा सरकारको खातामा गएका पुँजीगत लाभकर पनि अहिलेसम्मकै उच्च हो । त्यसभन्दा अघि र पछि पनि सरकारको खातामा सो अािर्थक वर्षको हाराहारीमा पनि पुँजीगत लाभकर गएको छैन ।

सेयर बजार परिसूचकमा निरन्तर गिरावट आउँदा सरकारको राजस्वमा पनि कमी भइरहेको छ । नेप्से परिसूचक घट्दा पुँजीगत लाभकर घट्ने र नेप्से बड्दा पुँजीगत लाभकर पनि बढ्ने गरेको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा जुन समयमा नेप्से बढ्यो त्यो समयमा सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर बढेको छ । जुन समयमा नेप्से परिसूचक घटेको छ त्यो समयमा पुँजीगत लाभकर पनि कम हुँदै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ भन्दा अघि र पछि दुवै समयमा सेयर बजार परिसूचक घटेको छ र पुँजीगत लाभकर पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ अत्यमा सेयर बजार परिसूचक घटेर २००९ दशमलव ४७ अंकमा पुग्यो । ८०० भन्दा बढी अंकले सेयर बजार घट्दा पुँजीगत लाभकरमा पनि गिरावट आएको छ । सो वर्ष पुँजीगत लाभकर ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ मात्रै राज्यकोषमा जम्मा भएको छ । यो पुँजीगत लाभकर पछिल्लो १० वर्षको अवधिमा संकलन भएको दोस्रो धेरै हो ।

आर्थिक वर्ष २०७६/७७ मा पुँजीबजारबाट सरकारलाई ९८ करोड मात्रै राजस्व दाखिला भएको छ । त्यो वर्षको अन्तिममा सेयर बजार परिसूचक १३६२ दशमलव ३५ अंकमा रहेको थियो । त्यस्तै २०७५/७६ मा पनि नेप्से परिसूचक १२५९ दशमलव ०२ विन्दुमा रहेको थियो । त्यो वर्ष पुँजीबजार लाभकरबापत जम्मा ६४ करोड रुपैयाँ संकलन भएको धितोपत्र बोर्डको तथ्यांक छ ।

आर्थिक वर्ष २०७४/७५ मा सबै त पुँजीगत लाभकर जम्मा ४७ करोड रुपैयाँ संकलन भएको छ । यो पछिल्लो १० वर्षको अवधिमा सबैभन्दा कम हो । सो आर्थिक वर्षको अन्तिममा नेप्से परिसूचक जम्मा १२१२ दशमलव ३६ विन्दुमा रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ अन्तिममा नेप्से १५८२ दशमलव ६७ विन्दुमा पुगेको थियो । सो वर्ष पुँजी बजारबाट १ अर्ब अर्बभन्दा बढीको राजस्व संकलन भएको थियो । त्यो आर्थिक वर्षमा पुँजीबजारबाट १ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । आर्थिक वर्ष २०७२/७३ मा नेप्से परिसूचक १७१८ दशमलव १५ विन्दुमा पुगेको थियो । परिसूचक १७१८ विन्दुमा पुगेको सयममा पुँजीगत लाभकर १ अर्ब ३९ करोड रुपैयाँ संकलन भएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ भन्दा पछिका आर्थिक वर्षहरुमा नेप्से परिसूचक पनि घट्दै गएको छ भने पुँजीगत लाभकर पनि घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा २८८२ विन्दुमा पुग्दा १५ अर्बभन्दा बढी पुँजीगत लाभकर संकलन भएको बजारबाट त्यसको अर्को वर्ष २०७८/७९ मा नेप्से परिसूचक २००९ दशमलव ४७ विन्दुमा पुग्दा पुजीगत लाभकर पनि ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँ संकलन भएको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा नेप्से परिसूचक केही बढेर २०९७ दशमलव १० विन्दुमा पुग्यो । तर, पुँजीगत लाभकर भने घटेर ३ अर्ब ३८ करोडमा सीमित हुन पुग्यो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म नेप्से परिसूचक १९९८ दशमलव ८९ विन्दुमा पुगेको धितोपत्र बोर्डको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सेयर बजारबाट पुँजीगत लाभकर ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ संकलन भएको छ ।

बजार घट्दा खेरि लगानीकर्तालाई मात्रै नभएर राज्यलाई पनि घाटा हुने धितोपत्र दलाल संघका सचिव सुयोग अधिकारीको भनाइ छ । ‘बजार बढेर नाफा भएको आधारमा लगानीकर्ताले कर तिर्छन। तर, बजार घट्दा राज्यलाई जाने कर पनि घट्छ,’ उनले भने । समग्रमा भन्दा सेयर बजार बढ्दा व्यवसायीलाई मात्रै नभएर राज्यलाई पनि फाइदा हुने उनले बताए ।

१० वर्षमा पुँजीगत लाभकर ३९ अर्ब ४० करोड

पुँजी बजारबाट पछिल्लो १० वर्षमा राज्यलाई ३९ अर्बभन्दा बढीको राजस्व संकलन भएको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ देखि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९ अर्ब ४० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको हो।

तथ्यांकअनुसार तीन आर्थिक वर्षमा मात्रै पुँजीगत लाभकर करोडमा संकलन भएको छ । बाँकी वर्षहरुमा पुँजीगत लाभकर अर्बमा संकलन भएको छ । आर्थिक वर्ष २०७४/०७५, २०७५/७६, २०७६/७७ मा मात्रै पुँजीगत लाभकर करोडको अंकमा संकलन भएको थियो । बाँकी बर्षहरुमा अर्बभन्दा माथि पुँजीगत लाभकर संकलन भएको बोर्डको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा कम ४७ करोड रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । त्यसको अर्को वर्ष २०७५/७६ मा ६४ करोड र २०७६/७७ मा राज्यलाई पुँजीबजारबाट ९८ करोड ४८ लाख रपैयाँ पुँजीगत लाभकर प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा पुँजीबजारबाट राज्यले १ अर्ब ३९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ । त्यस्तै २०७३/७४ पनि राज्यको राजस्वमा पुँजीबजारले १ अर्ब ४५ करोड रुपैयाँको योगदान पुर्‍याएको छ । पुँजी बजारबाट सबैभन्दा धेरै राजस्व आर्थिक वर्ष २०७७/७८ मा संकलन भएको छ । त्यो आवमा पुँजीबजारबाट १५ अर्ब ५३ करोड १६ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।

त्यस्तै २०७८/७९ मा पनि पुँजीगत लाभकर बापत राज्य कोषमा ११ अर्ब ४० करोड ८५ लाख रुपैयाँको योगदान भएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा पुँजीगत लाभकर बापत राज्यले ३ अर्ब ३८ करोड रुपैयाँ प्राप्त गरेको देखिन्छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा पनि पुँजीगत लाभरकबाट राज्य कोषमा ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ जम्मा भएको छ ।

सेयर बजारमा लगानी गरी नाफामा सेयर बिक्री गरेको अवस्थामा सरकारलाई पुँजीगत लाभकर बुझाउनुपर्ने हुन्छ ।

एक वर्षभन्दा बढी अवधि आफूसँग राखेर सेयर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्छ भने एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गरियो भने ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । त्यस्तै कम्पनीको हकमा भने १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal