Skip to content
Prabhu

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने अनुमान

सुदूरपश्चिम । चालु आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनको आकार ४ खर्ब ४ अर्ब २८ करोड र आर्थिक वृद्धिदर तीन दशमलब ४१ प्रतिशत रहने अनुमान छ ।

गत आवमा वृद्धिदर एक दशमलब ५२ प्रतिशत रहेको थियो । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आव २०८०/८१ को गत फागुन महिनासम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आवमा राष्ट्रिय अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब ८४ करोड रुपैयाँ हुने र आर्थिक वृद्धिदर तीन दशमलव ५४ प्रतिशत हुने अनुमान गरिएको बताए।

प्रदेश सरकारले प्रदेशसभाको बैठकमा असार १ गते आगामी आव २०८१/८२ को लागि राजस्व र व्ययको अनुमान (बजेट) पेस गर्दै छ । बजेट प्रस्तुत गर्नअघि प्रदेशसभाको शुक्रबारको बैठकमा आर्थिक मामिलामन्त्री पालले प्रदेशभित्रका समष्टिगत आर्थिक परिसूचक, खर्चको प्रवृत्ति, सामाजिक विकासका प्रमुख सूचकहरु समावेश गरिएको आव २०८०/८१ को फागुनसम्मको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

प्रस्तुत आर्थिक सर्वेक्षणमा चालु आवमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिम प्रदेशको योगदान सात दशमलब एक प्रतिशत रहने अनुमान गरिएको छ । चालु आवको फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत र औसत थोक मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा चालु आवमा कृषि क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः तीन दशमलव ४२ प्रतिशत र चार दशमलव शून्य नौ प्रतिशत धनात्मक रहने अनुमान गरिएको छ । आव २०७९/८० मा सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहेकोमा चालु आव २०८०/८१ मा उक्त आय एक हजार एक सय ११ अमेरिकी डलर रहने अनुमान गरिएको छ ।

चालु आवको गत फागुनसम्म प्रदेश सरकारको कूल आय गत आवको सोही अवधिको तुलनामा १३ दशमलब ५६ प्रतिशतले घटेर १७ अर्ब ९९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । गत फागुनसम्म सरकारको आन्तरिक राजस्व रु ७६ करोड ६४ लाख रुपैयाँ, बाँडफाँटबाट प्राप्त राजस्व चार अर्ब ८७ करोड रुपैयाँ,सङ्घीय अनुदान प्राप्त सात अर्ब ७८ करोड ९१ लाख र नगद मौज्दात ४ अर्ब ४६ करोड दुई लाख रुपैयाँ गरी कुल आय १७ अर्ब ९९ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

फागुनसम्म प्रदेश सरकारको कूल खर्च सात अर्ब १४ करोड ७३ लाख रुपैयाँ रहेको छ । जसमध्ये चालु खर्च तीन अर्ब ७० करोड २४ लाख र पुँजीगत खर्च तीन अर्ब ४४ करोड ४९ लाख रुपैयाँ रहेको छ । चालु वर्षको फागुनसम्मको सरकारको राजस्वमध्ये कर राजस्व ४४ करोड १३ लाख र गैरकर राजस्व ३२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

आर्थिक सर्वेक्षणमा चालु वर्षको गत फागुनसम्म प्रदेशका स्थानीय तहको चालु र पुँजीगत गरी कूल २३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । यो अवधिमा स्थानीय तहलाई प्रदेश सरकारले १९ करोड ४२ लाख रुपैयाँ राजस्व बाँडफाँबापत वित्तीय हस्तान्तरण गरेको छ । चालु वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको र कर्जा प्रवाह १ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ ।

आर्थिक सर्वेक्षणमा चालु वर्षको फागुनसम्म प्रदेशको एक लाख ८० हजार हेक्टरमा धान बाली खेती भएकोमा छ लाख ७४ हजार मेट्रिकटन उत्पादन भएको अनुमान गरिएको छ । यस्तै मकै एक लाख तीन हजार मेट्रिक टन, कोदो १९ हजार मेट्रिक टन उत्पादन भएको अनुमान छ ।

प्रदेशमा दर्ता भएका एक हजार पाँच सय पाँचवटा नयाँ उद्योगको कूलस्थिर पुँजी र ९९ करोड र चालु पूँजी ८६ करोड ६० लाख रुपैयाँ रहेको र यी उद्योगबाट चार हजार छ सय २१ रोजगारी सिर्जना हुने, पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि भएकोलगायतका विषय आर्थिक सर्वेक्षणमा समेटिएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal