Skip to content
Prabhu

पर्यटन मेला सम्पन्न, ५ हजार बढीले गरे अवलोकन

nabil

काठमाडौं । पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रबर्द्धन गर्ने उद्देश्यका साथ सुरु भएको दुईदिने नेपाल अन्तर्राष्ट्रिय पर्यटन मेला शनिबार सम्पन्न भएको छ ।

समिट इभेन्ट्स मार्केटस्को आयोजना तथा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाको सहयोगमा आयोजित मेला शुक्रबारदेखि सुरु भएको थियो । मेलाको समापन गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पर्यटन प्रबर्द्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताए । उनले काठमाडौंभित्रको सम्पदा र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महानगरपालिकाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए । उपप्रमुख डङ्गोलले मेलामा सहभागीलाई आ–आफ्नो देशमा गएर नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउन आग्रह गरे।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न मेलाले थप सहयोग पुगेको उल्लेख गरे । उनले निजी क्षेत्रको प्रयासमा सराहनीय काम भएको बताए।

मलेसियाको मलेसिया पर्यटन बोर्ड र भारतको बिहार पर्यटन बोर्डकोसमेत सहभागिता रहेको उक्त मेलामा १६ देशका एक सय ५० पर्यटन व्यवसायीका स्टल रहेको थियो । दुई दिनसम्म चलेको मेला पाँच हजारभन्दा बढीले अवलोकन गरेको समिट इभेन्ट्स मार्केटसका प्रबन्ध निर्देशक विष्णु पाण्डेले जानकारी दिए ।

मेलामा पर्यटनसँग सम्बन्धित समूहगत छलफल भएको थियो । निजी क्षेत्रको सक्रियतामा पहिलोपटक गरिएको मेला सफल रूपमा सम्पन्न भएसँगै आयोजकले आगामी वर्षको मे ३० र ३१ मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासमेत गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal