Skip to content
Prabhu

सेबोन अध्यक्ष नियुक्ति प्रक्रियाः कानुनमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने, दुई जना मात्रै अन्तर्वार्तामा उपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिस गर्न सकस देखिएको छ। कानुनी रूपमा कम्तीमा ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था भए पनि अन्तर्वार्ताका लागि २ जना मात्रै उपस्थित भएपछि नियुक्ति समितिलाई सिफारिस गर्न समस्या देखिएको हो ।

 

अन्तर्वार्ताका लागि छनोट भएका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अमुपस्थिति रहेको बोर्ड स्रोतले जनाएको छ । आइतबार बोलाएको अन्तर्वार्तामा चिरन्जिवी चापागाई, कृष्ण कार्की र डा.नवराज अधिकारी अनुउपस्थित रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डा. अधिकारी बिरामी बिदामा बसेका छन् । त्यस्तै कृष्ण कार्की उपत्यका बाहिर रहेको बताइएको छ । उनीहरुको फोन बिहानैदेखि अफ छ । त्यस्तै चिरन्जिवी चापागाईंको पनि फोन अफ रहेको छ । अन्तर्वार्ताका लागि मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थिति भएका छन्।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) मा अध्यक्ष नियुक्त गर्ने प्रयोेजनका लागि नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति गठन गरिने छ भनिएको छ । सोही दफाको उपदफा ४ मा उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिमको योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्ने छ भनिएको छ । तर, अन्तर्वार्ताका लागि २ जना मात्रै उपस्थित भएपछि यो विषय थप पेचिलो बनेको हो ।

सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal