Skip to content
Prabhu

११ महिनामा तनहुँकाे पुँजीगत खर्च आधा मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष सकिन लाग्दा तनहुँमा पुँजीगत तर्फको बजेट आधा मात्रै खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा वर्षभरिका लागि छुट्याइएको पुँजीगत बजेटको ५० प्रतिशत मात्रै खर्च भएको हो ।

चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा विनियोजित बजेटको ५० दशमलव १८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा  नियन्त्रकको कार्यालयले जनाएको छ । सङ्घबाट प्राप्त ३ अर्ब ८१ करोड २४ लाख १४ हजार ८२९ रुपैयाँमा ११ महिनाको अवधिमा ४६ दशमलव ५७ प्रतिशत खर्च भएको कोलेनिकाका कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार चालुतर्फ ८२ दशमलव ३० प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ ९ अर्ब १६ करोड १४ लाख ६७ हजार ६१३ रुपैयाँ विनियोजन भएको थियो । त्यो मध्ये ७ अर्ब ५४ करोड ३ हजार ४ रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सरकारमार्फत विनियोजित विकास बजेट संघको भन्दा ९ प्रतिशत बढी खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ ५५.४८ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २ अर्ब ६० करोड ३७ लाख ६ हजार रुपैयाँ विनियोजन भएकामा १ अर्ब ४४ करोड ४५ लाख ४१ हजार ३१४ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

प्रदेशमा चालुतर्फ ८६ करोड ५८ लाख २९ हजार ९८० विनियोजन भएकामा ४७ करोड ५८ लाख ५४ हजार ६३२ अर्थात् ५४.९६ प्रतिशत बजेट खर्च भएको छ । योजना छनोट गरेर लागू गरेपछि सुरुको त्रैमासिकमा बोलपत्र प्रक्रिया हुने, त्यसपछि बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्न तीन महिना लगाउने र कामको रफ्तार नबढाउनेलगायतका कारणले विकास बजेटको खर्च न्यून देखिएको कोष नियन्त्रक भट्टराईले बताए ।
कार्यालयका अनुसार ११ महिनामा संघ र प्रदेशको गरी ५०.१८ प्रतिशत विकास (पुँजीगत) बजेट खर्च भएको छ । पुँजीगत बजेट ६ अर्ब ४१ करोड ६१ लाख २० हजार ८२९ रुपैयाँमा ३ अर्ब २१ करोड ९८ लाख ७३ हजार ८६० रुपैयाँ खर्च भएको छ । त्यस्तै चालुतर्फ भने ७९.९४ प्रतिशत खर्च भएको छ । चालु तर्फ १० अर्ब दुई करोड ७२ लाख ९७ हजार ५९३ रुपैयाँ विनियोजन भएकामा ८ अर्ब एक करोड ५८ लाख ५८ हजार १०४ रुपैयाँ अर्थात् ७९.९४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal