Skip to content
Prabhu

ट्यांकर मजदुरसँग जुट्यो सहमति, आजैदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुचारु हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ । नेपाल आयल  नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको हो ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो । यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेको थियो । मजदुरहरूले सबै ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।

स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नसमेत माग गरिएको छ । टेम्प्रेचरको सही व्यवस्थापन गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनुपर्ने मागसमेत गरिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal