Skip to content
Prabhu

६ वर्षमा ३ अर्ब पनि आन्तरिक आम्दानी भएन कर्णाली प्रदेशको

काठमाडौं । कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा २ अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको ५ वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको हो ।
आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व संकलन २ अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ । यो कूल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशको आन्तरिक राजस्व संकलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख रुपैयाँ अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ । आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कूल बजेट भने १ खर्ब ६६ अर्ब ५६ करोड रहेको छ ।
बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए । विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ ।
संसद्मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए । आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा संघीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कूल २७ अर्ब ५२ करोड रुपैयाँ प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी ७ अर्ब ७८ करोड संघीय सञ्चित कोषमा फिर्ता भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal