कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न छन् । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आएको हुन् ।
पाँच प्रकारका दुनाटपरी उहाँले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आएका छन् । उनले उत्पादन गरेका दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन् । गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उनलाई नै दिइने गरिन्छ ।
उनले यसैमार्फत मासिक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म कमाई गर्दै आएका छन् । विवाहलगायतको याममा एकै महिनामा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको उनले बताए ।
‘एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा सहभागी हुँदा दुनाटपरी बेचेर पनि कति नै कमाई होला भनेर पहिला सोच्ने गर्दथे’, उनले भने, ‘दातृनिकायले मेसिन अनुदान दिएर महिलाको समूह बनाइदियो, केही दिन समूहका महिलासँग कार्य गरे, सुरुसुरुमा थोरै कमाई हुँदा आबद्ध महिलाले साथ छाडे ।’
त्यसपछि एक्लैले कामलाई निरन्तरता दिँदा ठाउँठाउँमा चिनजान बढेसँग दुनाटपरीको माग आउन थाल्यो । अहिले नसोचेको कमाइ हुँदा आफैँ दङ्ग पर्ने गरेको उनले बताए । ‘पढेलेखेको थिइन्’, उनले भने, ‘अधिकांश समय मेलापात र घरकै भान्साको काममा व्यस्त हुन्थे, आफूलाई आवश्यकता परेका बेला श्रीमान्कै मुख ताक्नु पर्दथ्यो ।’
गाउँमै दुनाटपरी बनाउने तालिम आएपछि सहभागी भए सीप सिकेपछि अहिले त्यसैबाट घर खर्च चल्न थालेको उनले सुनाए । उनले भने, “पहिला श्रीमानबाट पैसा माग्थेँ, अहिले पैसा नभएका बेला श्रीमान्ले माग्नुहुन्छ , परनिर्भरता भएर बस्नुपरेको छैन ।’ सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उनले सुनाइन्। रुख चढेर सालका पात टिप्न नसक्ने भएकाले उनले अरुले टिपेका पात किनेर दुनाटपरी बनाउँछन् ।
देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँमा खरिद गर्छन् । “पात टिप्नेले पनि रोजगारी पाएका छन्, मैले पातबाट दुनाटपरी बनाएर उद्यम चलाउन थालेको छु’, उनले भने । उनले सानो दुनाटपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि दुई र ठूलो पाँच रुपैयाँ प्रतिगोटाका हिसाबले बेच्छन् । एक सय वटा दुनाटपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उनले बताए ।
उनले जस्तै कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हिरा घर्तीमगरले पनि दुनाटपरी बनाउने उद्योग नै खोलेर उद्यम गर्दै आएका छ । उद्योगमा उनले चार जनालाई रोजगारी पनि दिएका छन् । उनको दुनाटपरी उद्योगको वार्षिक आम्दानी ३ लाख ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म हुने गरेको छ ।
पाँच वर्षअघि घर्तीले ५० हजार रुपैयाँ लगानीमा मेसिन खरिद गरी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । ‘काम सानो र ठूलो हुँदैन’, उनले भने, ‘सानै काम गरे पनि जीवन सहजरुपमा चलाउन सकिन्छ, त्यसका लागि लगनशीलता आवश्यक पर्छ ।’
हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुनाटपरीको आवश्यकता पर्ने उनले बताए । दुनाटपरी स्थानीय अत्तरिया, धनगढी, महेन्द्रनगरलगायत बजारमा मात्रै नभएर डडेल्धुरा, डोटीको दीपायल, कास्कीको पोखराबाट माग आउने गरेको छ । दैनिक दुई हजार दुनाटपरी उहाँको उद्योगबाट उत्पादन हुने गरेको छ ।
यस वर्ष वन क्षेत्रमा अधिक डढेलो लाग्दा मागअनुसार पातको आपूर्ति गर्न नसक्दा उत्पादन थोरै हुँदा आम्दानी घटेको उनको भनाइ छ । ‘सिधै माग भएका ठाउँमा पुर्याउन सकिए आम्दानी सोचेभन्दा बढी नै हुन्थ्यो’, उनले भने, ‘विचौलीयाले बढी नाफा खाने भएकाले उत्पादन गर्नेले थोरै आम्दानीमै चित्त बुझाउनु परेको छ ।’
दुनाटपरीको उद्योग सञ्चालनसँगै घर्तीले माग भएका ठाउँमा प्रशिक्षक भएर दुनाटपरी बनाउने तालिममा प्रशिक्षण दिने काम गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्