Skip to content
Prabhu

बालकोटका पुराना ढुंगेधारा सडक कालोपत्रेसँगै सुक्न थाले ढुंगधारा

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटका पुराना ढुङ्गेधारा बिस्तारै लोप हुने चरणमा पुगेका छन् । विसं २०७२ सम्म दुई ढुङ्गेधारा रहेको धारापाटीमा अहिले धाराको ठाउँमा पाइपको टुक्रामात्र राखिएको छ । विसं २०४९ मा धारा सुकेपछि जमिनमुनि खनेर पानी निकालेर चलाइएको थियो ।

बिस्तारै बोरिङको पानी पनि सुक्न थालेपछि पछिल्लो दुई वर्षदेखि ढुङ्गेधारामा पानी आउँदैन । पानी सुक्नुको मुख्य कारण धाराको पानीको मुहानमाथि सडक कालोपत्रे गरिरहेको पाइएको छ । परम्परागत रुपमा ढुङ्गेधारामा आउने पानीलाई नागदेवताको आशीर्वाद मानिन्छ तर अहिले ढुङ्गेधारा पाइपको सानो टुक्रा र फोहोरले ढाकिएको स्थितिमा सीमित हुन पुगेको छ । सहरिया जीवनशैलीका कारण ढुङ्गेधाराको सुरक्षा र संरक्षणका लागि यहाँका स्थानीय बासिन्दाले पनि पछिल्लो समय ध्यान दिन छाडेका छन् ।

धारामा पानी नआउने हो भने धाराको महत्व घट्दै गएर अहिले फोहरको थुप्रोले धारा पुरिन थालेका छन् । सूर्यविनायक–२ स्थित स्थानीय गुप्तेश्वर संरक्षण समितिले खानेपानीको सहज उपलब्धताका लागि सम्बन्धित निकायमा आग्रह गरेपछि हप्ताको एक दिन घरको धारामा खानेपानी आउने गरेको छ।

सांस्कृतिक र धार्मिकरुपमा पनि महत्व बोकेको ढुङ्गेधारा अहिले उपलब्ध नहुँदा यहाँका बासिन्दा चिन्तित देखिन्छन् । ‘सडक कालोपत्रे हुँदै गए, ढलान भए र पानीको मुहान नै सुकेपछि ढुङ्गेधारा पनि सुक्दै गए’, स्थानीय गुप्तेश्वर संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठले भने, ‘यहाँका दुई ढुङ्गेधारा एकदमै कलात्मक थिए, विभिन्न देवीदेवताका मूर्ति पनि यहाँ रहेका थिए तर बिस्तारै मूर्ति हराउँदै गए र अहिले ढुङ्गेधारा सुक्दै गएका छन् ।’

ढल खन्दै जाने क्रममा मुहान भेटिएको र त्यसैलाई सुरक्षित साथ राखेर ढुङ्गेधाराको निर्माण गरिएको थियो । उनका अनुसार दुई–तीन सय वर्ष अगाडिदेखि चलनमा आएको ढुङ्गेधारा बोरिङको पानीका भरमा सधैं चल्न सकेनन् । ‘विसं २०७९ मा फेरि बिस्तारै धारा सुक्दै गए, वर्षाको बेलामा मात्र पानी आउन थाल्यो, ढुंगधाराको संरक्षणका लागि वडा कार्यालयले आर्थिक सहयोग गर्ने गरेको छ’, उनले भने । विसं २०७९ मा पानी सुक्दा वडाको आर्थिक सहयोगमा सात÷आठ ठाउँमा बोरिङ गर्दा पनि पानीको स्रोत पत्ता नलागेको संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए ।

वडा नं २ का वडाध्यक्ष प्रदीप कार्कीले ढुङ्गेधारामा पानीको मुहान सुकेको विषयमा आफूहरु जानकार रहेको तर सडक निर्माण भइसकेकाले आफूहरुले मात्रै पहल गरेर मुहान पत्ता लगाउन नसकिने बताए। उनका अनुसार बालकोटका ढुङ्गेधारा दुई–तीन सय वर्ष पुराना हुन् । ‘त्यसबेला पानी भए पनि चलनमा थिएन, एकपटक छिमेकी चीनका पर्यटक आएर त्यहाँको पानी खाएर स्वाद मीठो भएपछि बालकोट निवासी सबैले त्यहाँको धाराको पानी प्रयोग गर्न थालेका हुन्’, उनले भने ।

श्रेष्ठका अनुसार यहाँ पानी लिन मानिस काठमाडौँको कलङ्की र सिनामङ्गलदेखि आउने गर्दथे । बटुवालाई ढुंगधाराबाट सफा र चिसो पानी प्राप्त हुने गरेको उहाँ स्मरण गर्नुहुन्छ । बाटो ढलान, सडक कालोपत्र, मुहानभन्दा तल ढल निकास र कङ्क्रिटका घरका कारण पानीका मुहान सुक्दै गएको समितिका अध्यक्ष श्रेष्ठ बताए। अहिले धारोमा पानी पूरै सुकेको र ढुंगेधारा एकदमै फोहोर तथा लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

खानेपानीका लागि हप्तामा एक दिन कुर्नुपर्ने भएकाले अब मेलम्ची खानेपानी आयोजनाको आशमा बालकोट रहेको जनाउँदै श्रेष्ठ भने, ‘अब केवल मेलम्चीको आस गर्नुबाहेक अर्को विकल्प रहेन ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal