Skip to content
Prabhu

कैलाली भन्सारद्वारा ११ महिनामा ७ अर्ब राजस्व संकलन

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा ७ अर्ब ३२ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ २ अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ १८ करोड ९५ लाख र अन्यतर्फ एक अर्ब ४० करोड आठ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उनले जानकारी दिए ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख रुपैयाँ, भदौमा ५१ करोड ९३ लाख रुपैयाँ, असोजमा ६३ करोड १४ लाख रुपैयाँ , कात्तिकमा ६१ करोड ४६ लाख रुपैयाँ, मङ्सिरमा ७३ करोड ३४ लाख रुपैयाँ र पुसमा ६८ करोड ९० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

त्यस्तै, माघमा ६६ करोड ६७ लाख रुपैयाँ, फागुनमा ६९ करोड एक लाख रुपैयाँ, चैतमा ७२ करोड १३ लाख रुपैयाँ, वैशाखमा ७५ करोड १७ लाख र जेठमा ८३ करोड ५३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

‘आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पुँजीगत खर्च कम छ’, सूचना अधिकारी खड्काले भने, ‘बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व सङ्कलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ ।’

भन्सार कार्यालयको गत आव २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal