Skip to content

परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

nabil bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारणलाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले कहिल्यै पनि देश र जनतालाई माया नगर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठन छैटौं राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए ।

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन र रहँदैन पनि’, प्रधानमन्त्री दाहालले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ । सबै बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस् र डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैन ।’

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डो¥याउने भन्ने सवालमा बुद्धिजीवीको भूमिका निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।’

क्रान्तिपछि भएका महत्वपूर्ण कामलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्ने र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुद्धिजीवीको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए ।

बुद्धिजीवीले जनमतलाई समाजवादी दिशातर्फ डो¥याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ भने ।

उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले शान्ति प्रक्रियाको हस्ताक्षरकर्तामध्येका एक नेता प्रधानमन्त्री रहेको वर्तमान अवस्थामा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन विशेष पहल लिनुपर्ने सुझाव दिए ।

आन्तरिक कमजोरीका बाबजुत नेपाली कांग्रेस ऐतिहासिक र सैद्धान्तिक रुपमा प्रजातान्त्रिक संस्था रहेको उल्लेख गर्दै वाग्लेले मुलुकमा भरपर्दो अर्को प्रजातान्त्रिक संस्थाको आवश्यकता औँल्याए । ‘यो मुलुकमा प्रजातान्त्रिक संस्थाको नाम र कामका हिसाबले आवश्यक छ, अहिलेको सन्दर्भमा त्यो आवश्यकता कसैले सम्बोधन गर्नसक्छ भने त्यो वर्तमान प्रधानमन्त्री नै हो’, उनले भने ।

सङ्गठनका पूर्वअध्यक्ष नरेश भण्डारीले जनतामा अग्रगामी चेतनाको बिज रोप्न बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनमा बुद्धिजीवी सङ्गठनले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धिजीवी सङ्गठनका पूर्वअध्यक्ष भण्डारी तथा सङ्गठनका पूर्वअध्यक्ष एवं फ्रयाक्सन इञ्चार्ज डा खिमलाल देवकोटालाई सम्मान गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi