Skip to content
Prabhu

नेपालको सार्वजनिक ऋण हालसम्मकै उच्च, २४ खर्ब ३४ करोड

 

काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थाप कार्यालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च सार्वजनिक ऋण हो ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालको सार्वजनिक ऋणको ५० प्रतिशतभन्दा बढी वैदेशिक ऋण रहेको छ । जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपालको वैदेशिक ऋणको हिस्सा ५०.३२ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिसम्मको तथ्यांक अनुसार नेपालको वैदेशिक ऋण १२ खर्ब ७ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । आन्तरिक तर्फको ऋण भने ४९.६८ प्रतिशत रहेको छ । नेपालको आन्तरिक तर्फको ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड ४ लाख रुपैयाँ रहेको छ ।

यो अवधिमा नेपाल सररकाले आन्तरिक र बाह्य ऋणको साँवा र ब्याज बापतको २ खर्ब ७१ अर्ब १२ करोड ४९ लाख रुपैयाँ भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सरकारले आन्तरिकतर्फ २ खर्ब २७ अर्ब १२ करोड ७२ लाख रुपैयाँ साँवा र ब्याज भुक्तानी गरेको छ भने वैदेशिक ऋणको ४३ अर्ब ८८ करोड ७७ लाख रुपैयाँ साँवा र ब्याज तिरेको छ ।

आन्तरिकतर्फ सरकारले ५ वटा सरकारी ऋणपत्र तथा बण्डमार्फत उठाएको ११ खर्ब ९२ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्मको रिपोर्ट अनुसार सरकारले ट्रेजरी बिलमार्फत उठाएको ४ खर्ब १२ अर्ब ६९ करोड २२ लाख रुपैयाँ भुक्तानी बक्यौता रहेको छ । यसै गरी डेभलपमेन्ट बण्डमार्फत उठाएको ७ खर्ब ६४ अर्ब ९४ करोड रुपैयाँ, नागरिक बचतपत्रमार्फत उठाएको १० अर्ब ७५ करोड २ लाख रुपैयाँ, वैदेशिक रोजगार बचतपत्रमार्फत उठाएको १७ करोड ५४ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बण्डमार्फत उठाएको ३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ भुक्तानी दायित्व सरकारमाथि रहेको छ ।

बाह्यतर्फ १२ खर्ब ७ अर्ब बढी भुक्तानी दायित्व रहेको सरकारले द्विपक्षीय र बहुपक्षीय गरी दुई वर्गमा दातृ निकाय तथा देशसँग ऋण लिएको छ । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिसम्म भुक्तानीपछि बाँकी रहेको बक्यौताका आधारमा बहुपक्षीयतर्फ १० खर्ब ७१ अर्ब ११ करोड रुपैयाँ भुक्तानी दायित्व रहेको छ भने द्विपक्षीतर्फ १ खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको छ ।

तथ्याङ्कअनुसार सरकारले सबैभन्दा बढी विश्व बैंक अन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) सँग ऋण लिएको छ र जेठ मसान्तसम्म ५ खर्ब ७९ अर्ब ५३ करोड भुक्तानी बाँकी रहेको छ। यो कूल ऋणको ४७.९८ प्रतिशतको हिस्सा हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal