Skip to content
Prabhu

समयसापेक्ष सेवा प्रवाहका लागि मनाङका होटल व्यवसायीलाई तालिम

गण्डकी । हिमालपारिको जिल्ला मनाङका होटल व्यवसायी तथा कर्मचारीका लागि सदरमुकाम चामेमा दुईदिने तालिम सुरु भएको छ । यहाँका व्यवसायी तथा कर्मचारीलाई स्वच्छ र पर्यटनमैत्री सेवा प्रवाहमा थप सक्षम बनाउन होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा आजदेखि तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले होटलको सेवालाई गुणस्तरीय बनाउन मद्दत पुग्ने बताए । ‘हिजोका दिनमा जानेर वा नजानेर व्यवसायीहरुले होटल सञ्चालन गरिरहनुभएको थियो, यो तालिमबाट प्राप्त हुने ज्ञान र सीपबाट पर्यटकलाई आकर्षित गर्न यहाँहररु सफल बन्नुहुनेछ’, उनले भने । अध्यक्ष घलेले मनाङको मुख्य आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन होटल व्यवसायलाई मर्यादित र गुणस्तरयुक्त बनाउनुपर्ने बताए । सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा आउनेतर्फ सचेत रहनुपर्ने बताए । ‘मुख्य गरी यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले पनि यसमा सोचोस्’, उनले भने ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना ९एक्याप० खन्तर्गतको इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले मनाङ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए । सन् २०२३ मा २२ हजारभन्दा बढी पर्यटकले मनाङ भ्रमण गरेको जानकारी दिँदै उनले आतिथ्य सेवा गुणस्तरीय र मर्यादित भएमा मात्र पर्यटकलाई आकर्षित गर्न सकिने धारणा राखे ।
मनाङमा तीन सयभन्दा बढी होटल छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने थोरङ्ला भञ्ज्याङ, तिलिचो ताललगायत यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।
महासङ्घका अध्यक्ष अर्जुन चोखालले मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङ सदरमुकाम चामेलगायत क्षेत्रका होटल व्यवसायीलाई तालिम प्रदान गरिएको जानकारी दिए । ‘होटलमा कार्यरत जनशक्तिमा समयसापेक्ष सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो’, अध्यक्ष चोखालले भने, ‘तालिमले होटलको सेवा थप गुणस्तरीय र मर्यादित हुने अपेक्षा लिइएको छ ।’ पर्यटक आवागमनमा वृद्धिसँगै होटलहरूले आन्तरिक क्षमता र सेवाको गुणस्तर बढाउनुपर्ने अध्यक्ष चोखालको भनाइ छ ।

तालिममा खाद्य स्वच्छता, सरसफाइ, पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रबर्द्धन, स्थानीय उत्पादनको व्यवसायीकरणलगायत विषयमा विज्ञहरुले तालिम दिने महासङ्घका महासचिव देवेन्द्र लम्सालले बताए । तालिममको प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मीलगायत थिए ।

‘एक्याप’ मनाङको स्थानीय सहजीकरणमा आयोजित तालिममा ४० जना होटल व्यवसायी तथा कर्मचारी सहभागी छन् । यसअघि महासङ्घले मर्स्याङ्दी करिडोरअन्तर्गत तनहुँ र कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र नवलपुरमा तालिम सञ्चालन गरिसकेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal