Skip to content

बाँकेमा कम्पोष्ट मलका लागि ढैंचाखेती

nabil bank

बाँके । बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैंचाखेती गरेका छन् । हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उनले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैंचाखेती गर्दै आएका हुन् ।

३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैंचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्राङ्गारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष यो खेती गर्ने गरेको उनले बताए । ‘यो लगाएपछि डिएपी मल लगाउनु पर्दैन’, उनले भने, ‘वर्षामा किसानलाई चाहिने भनेकै युरिया र डिएपी हो तर यो बेलामा समयमै मल पाइँदैन । त्यसको साटो ढैंचाले काम गर्ने हुँदा मैले यही खेती गर्ने गरेको छु ।’

एक कट्ठामा तीन किलो डिएपी मल प्रयोग हुने ठाउँमा ढैंचाको बीउ डेढदेखि दुई किलो भए पुग्ने धनबहादुर योगीले बताए । उनले यो वर्षदेखि ढैंचाको बीउको मूल्य बढेको जानकारी दिए । ‘अघिल्ला वर्षहरुमा ढैंचाको बीउ खरिद गर्दा मैले ६० देखि ७० रुपैयाँसम्म तिरेको थिएँ,’ उनले भने, ‘यो वर्ष एक केजी ढैंचाको बीउको भाउ रु एक सय पुगेको छ ।’

धनबहादुर जस्तै सोही गाउँका गुमानसिंह गिरीले पनि चार वर्षदेखि १२ कट्ठा जग्गामा ढैँचाखेती गर्दै आउनुभएको छ । ढैंचाखेती गर्न थालेदेखि धान उत्पादन बढेको गुमान सिंहको अनुभव छ । ‘धानको बीउका लागि यो असाध्यै राम्रो मल रहेछ,’ उनले भने, ‘यसको प्रयोग गर्न सुरु गरेदेखि धान बाली सप्रिएको त छँदै छ उब्जनी पनि बढेको छ ।’ ढैंचा कम्पोष्ट मल भएको हुनाले स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

धनबहादुर र गुमान सिंह जस्तै सोही गाउँका टेकबहादुर योगीले पनि आफ्नो १६ कट्ठा जग्गामा विगत ६ वर्षदेखि ढैंचाखेती गर्दै आएका छन् । ढैंचाको प्रयोगले जग्गालाई उर्वर बनाउनुका साथै धान उत्पादन बढेको उनले बताए । सरकारद्वारा प्रदान गरिने रासायनिक मल समयमा नपाइने झन्झटले ढैंचाखेतीप्रति गाउँका किसानको आकर्षण बढेको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदले माटो सुधारका लागि ढैंचाखेती निकै प्रभाकारी भएको बताए । धान बालीलाई आवश्यक पर्ने कूल नाइट्रोजनको २५ प्रतिशत भाग ढैंचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ । माटोको सन्तुलन बिग्रँदै गइरहेको अवस्थामा ढैंचाखेती किसानका लागि फाइदाजनक भएकाले यस वर्ष केन्द्रले पाँच क्विन्टल ढैँचाको मल वितरण गरेको प्रमुख अहमदले जानकारी दिए।

नेपालमा पाइने ढैँचाका जातहरु सेस्बानिया रोस्ट्राटा र सेस्बानिया क्यानाविना छन् । यस्लाई धान रोप्नुभन्दा ४५ दिनअगाडि ४० केजी प्रतिहेक्टर वा प्रति रोपनी दुई केजीका दरले खेत खनजोत गरी छर्नुपर्छ ।

यीमध्ये सेस्बानिया रोस्ट्राटामा काण्ड र जरा दुवैमा वायुमण्डलीय नाइट्रोजन सोसेर लिन सक्ने ‘राइजोबियम ब्याक्टेरिया’ भएको गिर्खाहरु हुन्छन् । जस्ले नाइट्रोजन स्थिरीकरणको मात्रा बढाउँछ । ढैँचा लगाएको छ देखि सात हप्ता (फूल फल्ने अवस्था) पछि खेतमा पानी राखी बोटलाई जोत्न सजिलो हुने गरी काट्ने र जोतेर माटोमुनि पारेर दबाएर राख्नुपर्छ । यसरी सडाएर राखेको हरियो मल ढैंचाले ८० देखि एक सय ५० केजी नाइट्रोजन प्रतिहेक्टर स्थिरीकरण गर्न सक्ने विज्ञहरुको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime