Skip to content
Prabhu

सहकारीले गाउँगाउँमा पुगेर बचत गर्न सिकाएः मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै मन्त्री अर्यालले सहकारीले रोजगारी सृजना गर्ने देखि लिएर साना व्यवसाय स्थापित गर्नमा सहयोग पुराएको बताएका हुन ।

समापन समारोहलाई सम्बोधन गर्दे मन्त्री अर्यालले सहकारीले गाउँ–गाउँमा पुगेर प्रत्येक मानिसलाई बचत गर्न सिकाएको बताए । ‘सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई उद्यमी बन्न सिकाएको छ । उनीहरुले उत्पादन गरेका उत्पादनलाई बजारको समेत व्यवस्थापन गरिदिएको छ,’ उनले भने । सहकारीकै कारण धेरै मानिसको जीवनस्तर उकासिएको उनको भनाइ थियो ।

केही निश्चित व्यक्तिको बदमासीको कारण सम्पूर्ण सहकारी क्षेत्र बदनाम भएको उनले बताए । ‘तिनै बदमासले सहकारी संघ संस्थाका व्यक्तिलाई उचाल्ने, सहकारी क्षेत्रमा हुलहुज्जत गर्ने र सहकारीको बदनाम गराउँदैछन,’ उनले भने । तर, सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन गरेको सहयोगलाई विर्सन नहुने उनले जिकिर गरे । त्यसैले सहकारीको योगदानको बिषयमा ठूलो बहस नै चलाउनु पर्ने उनले बताए ।

राष्ट्रिय सहकारी महासंघले गत शुक्रबार देखि सहकारी रोजगार मेलाको आयोजना गरेको हो । संघको परिसरमा नै मेलाको आयोजना गरिएको थियो । मेलामा विभिन्न स्टल तथा छलफल पनि गरिएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal