Skip to content
Prabhu

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीबृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ ।

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धि सम्झौता गरेको छ । यससम्बन्धि सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. धु्रब भट्टराईले हस्ताक्षर गरे ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पुँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपिओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ । एलिटले कम्पनीको पुँजीबृद्धि, ब्यवशाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।
हाल १३ करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीबृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ । पुँजीबृद्धिपछी यस कम्पनीले पव्लिक कम्पनीमा रुपान्तरण भई आईपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष डा. धु्रव भट्टराईले जानकारी दिए।

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले बिभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।

हालसम्म औषधीजन्य उद्योगहरु पव्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन । २ वटा औषधी उद्योगले आईपिओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal