Skip to content
Prabhu

वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना निलम्बित

 

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई निलम्बन गरेको छ । प्राधिकरणले अनुमति नै नलिई वाइडबडी जहाज एयबरस–३३० सि–चेकका लागि इटाली पठाएपछि अधिकारीसहित ५ जनालाई निलम्बन गरेको हो।

प्रचलित ऐन, कानुन, आदेश तथा निर्देशन पालना नगरी गैरजिम्मेवार कार्य गरेको भन्दै प्राधिकरणले अध्यक्ष अधिकारीलाई ‘एकाउन्टेबल म्यानेजर’को सक्रिय जिम्मेवारीबाट हटाएको जनाएको छ । निगमको उच्च व्यवस्थापनबाटै हवाई सुरक्षामा गम्भीर खेलाँची भएपछि एक्सनमा उत्रिनुपरेको प्राधिकरणले जनाएको छ ।

अध्यक्ष अधिकारीले जहाजको सि–चेक गर्न प्राधिकरणको सामान्य प्रक्रिया पूरा गर्न अटेरी गर्दा निगमका अपरेसन डाइरेक्टर वरिष्ठ क्याप्टेन दिपु जुहार्चन, कन्टिन्युइङ एयरवर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोल पनि निलम्बनमा परेका छन् । यस विषयमा अन्तिम निर्णय नहुँदासम्म सम्बन्धित व्यक्तिहरूले आफ्नो पोजिसनमा बसेर पदीय जिम्मेवारी निर्वाह गर्न पाउने छैनन् ।

सि–चेकका लागि क्यानसँग अनुमति नै नलिई जहाज पठाएको क्यानले जनाएको छ । निगम व्यवस्थापनले ९ एन–एएलवाई कलसाइनको वाइडबडी जहाज सि–चेकका लागि इटाली पठाउँदा कानुनी प्रक्रिया पूरा नगरेको प्राधिकरणको आरोप छ । निगमले २२ जुलाईमा नियमित उडानबाट जहाज दुबई लगेको र उतैबाट इटाली पु¥याएको प्राधिकरणले जनाएको छ ।

नागरिक उड्डयन नियमावली, २०५८ अनुसार क्यानबाट एओसी प्राप्त गरेको वायुसेवा कम्पनीले आफ्ना जहाजको मर्मत–सम्भार गर्न पठाउँदा क्यानको अनुमति लिनुपर्छ । सि–चेक गर्ने एयरक्राफ्ट मेन्टेनेन्स अर्गनाइजेसन (एएमओ)ले पनि क्यानबाट इजाजत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal