Skip to content
Prabhu

ऋण विस्तार गर्न राष्ट्र बैंकले खोलिदियो बाटो, पुँजीकोष सहज गर्न असञ्चिति अग्राधिकार सेयर जारी हुने

काठमाडौं । प्राथमिक पुँजीकोष अनुपातको कारण समस्यामा परेका बैंकहरुलाई ऋण विस्तारको लागि सहज बाटो राष्ट्र बैंकले खोलिदिएको छ ।

राष्ट्र बैंकको पुँजीकोष सम्बन्धि व्यवस्थामा असञ्चिति अग्राधिकार सेयर जारी गर्ने व्यवस्था भएपनि निर्देशिका नआएको कारण यो कार्यान्वयनमा गएको थिएन ।

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिकामा संसोधन गरेर प्राथमिक पुँजीकोष सहज बनाउनको लागि असञ्चिति अग्राधिकार सेयर जारी गर्ने बाटो खोलिदिएको हो ।

यस बैकले इजाजतपत्रप्राप्त संस्थालाई देहायबमोजिमको शर्तहरुको अधीनमा रही अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकेर निष्कासन गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यसको लागि अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्नेछ । साथै यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने तथा अविमोच्य असञ्चिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।

यस्तै अविमोच्य असञ्चिति अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ । यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिने उल्लेख छ ।

(ग) खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार सेयरलाई संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि÷सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई जोखिमको विववरणसार्वजनिक गर्नुपर्नेछ । इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछ ।

इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजी मा समावेश भएका नियामकीय पूँजी उपकरणहरु, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले यस्तो सेयर निष्कासनको अनुमति दिएको बेला शर्तहरु तोक्न सक्नेछ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले राष्ट्र बैंकको व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता अनुपात मिलाउन सहयोगी हुने र कर्पोरेट सेक्टरले दीर्घकालिन लगानी क्षेत्र पाउने बताए ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले प्राथमिक पुँजीकोषको समस्या अब समाधान हुने ऋण बढाउन सहयोगी हुने टिप्पणी गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal