Skip to content
Prabhu

आधाभन्दा धेरै सुडानीहरू ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गर्दै

एजेन्सी । करिब दुई करोड ५६ लाख अर्थात सुडानको आधाभन्दा धेरै जनसङ्ख्याले उच्चस्तरको ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले बिहीबार उद्धृत गरेको एक प्रतिवेदनमा बताइएको छ ।
एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी०)का अनुसार उक्त सङ्ख्यामा सात लाख ५५ हजारले भोकमरीको सामना गरिरहेका छन् भने ८५ लाख मानिसले ‘आपत्कालीन’ स्थितिको सामना गरिरहेका छन् ।
अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना र उहाँका पूर्व डेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भएपछि सुडान सन् २०२३ देखि युद्धको चपेटामा परेको छ ।
युद्धले हजारौँको ज्यान लिएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र संसारको सबैभन्दा खराब मानवीय सङ्कटमध्ये एकलाई जन्म दिएको छ ।
“द्वन्द्वको १४ महिनापछि सुडानले देशमा आइपिसीले रेकर्ड गरेको अहिलेसम्मको सबैभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरिरहेको छ”, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले डिसेम्बरमा प्रकाशित पछिल्लो आँकडाको तुलनामा ‘खाद्य सुरक्षाको स्थितिमा गम्भीर र तीव्र गिरावट’ तर्फ सङ्केत गरेको छ । यसमा उच्चस्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्ने मानिसहरूमा ४५ प्रतिशतले वृद्धि भएको छ ।
“द्वन्द्वले ठूलो मात्रामा विस्थापन र आपूर्ति मार्गमा व्यवधान मात्र उत्पन्न गरेको छैन, यसले आवश्यक मानवीय सहायतासम्मको पहुँचलाई पनि गम्भीररूपमा सीमित गरेको छ, जसले स्थिति पहिलाभन्दा गम्भीर भएको छ”, अत्यधिक खराब स्वास्थ्य सेवाहरू, जल प्रदूषण र खराब सरसफाइ तथा स्वच्छताको अवस्थालाई उद्धृत गर्दै आइपिसीले भनेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रहरूमा फँसेका मानिसहरू र लडाइँबाट आन्तरिक वा विदेशमा भागेकाहरू विशेषरूपमा खाद्य असुरक्षाप्रति संवेदनशील भएको प्रतिवेदनले उल्लेख गरेको छ ।
राष्ट्रसङ्घीय विशेषज्ञहरूले द्वन्द्वका दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको एक दिनपछि आइपिसीको प्रतिवेदन आएको छ ।
राष्ट्रसङ्घका चार स्वतन्त्र अधिकार विशेषज्ञहरूले बुधबार सेना र आरएसएफ दुवैलाई सैन्य सहायता प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा ‘सहभागी’ रहेको बताएका थिए ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal