Skip to content
Prabhu

मिश्रित ऊर्जाको प्रबर्द्धनमा जोड

काठमाडौं । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई नवीकरणीय ऊर्जा प्रबर्द्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले बिहीबार भेटेर बधाई तथा शुभकामना दिएका छन् । भेटका अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रबर्द्धनमा आयोगले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरिएको छ ।

उक्त अवसरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिँदै आयोगद्वारा जलविद्युत् बाहेकका ऊर्जा प्रविधिका लागि पनि सम्बोधन गर्नुपर्ने र विद्युतीय ऊर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित हुने वातावरण निर्माण गर्न आग्रह गरे।

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामूलक काममा सहकार्यका लागि आयोग सकारात्मक रहेको उल्लेख गर्दै विद्युत ऊर्जाअन्तर्गत जलविद्युत बाहेकका प्रविधिहरुको उपयोगका लागि उपयुक्त वातावरणका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ऊर्जा दक्षता, ऊर्जा सुरक्षा र दिगो ऊर्जा मिश्रणलाई आयोगले जोड दिने उल्लेख गर्दै यसका निम्ति नवीकरणीय ऊर्जा र निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

यसैगरी सदस्यहरु आयोगका नवनियुक्त सदस्य डा। मधुसुदन अधिकारीले आयोगले समग्र ऊर्जा क्षेत्रलाई नियमन गर्ने भएकाले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि आयोगको ध्यान पुग्ने बताउँदै आयोगले यस क्षेत्रको नीतिगत सहजताका लागि पहल गर्ने बताए। कार्यक्रममा आयोगका सदस्यहरु झमकप्रसाद शर्मा र गौतम डंगोलले पनि आ–आफ्नो मन्तव्य राख्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघको अग्रसरता आयोजित उक्त भेटघाट कार्यक्रममा नेपाल लघु जलविद्युत विकास संस्था, सौर्य विद्युत उत्पादक संघ, सौर्य तापीय ऊर्जा संघ, नेपाल बायोग्यास प्रबर्द्धन संघ, ग्रामीण ऊर्जा प्रविधि संघ, जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, जैविक ऊर्जा व्यवसायी संघकालगायतका संस्थाका पदाधिकारी तथा ऊर्जा उद्यमीहरुको सहभागिता थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal