Skip to content
Prabhu

२१ औँ राष्ट्रिय धान दिवस : खेतीयोग्य जमिन घडेरीमा परिणत, वार्षिक लाखौँ मेट्रिकटन धान आयात

काठमाडौं । आज १५ असार २१ औँ राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालमा हरेक वर्ष धान दिवस मनाउने गरिन्छ । धान दिवस मनाउन कै लागि सरकारले ठूलो धनराशी समेत खर्च गर्छ । तर, त्यसबाट आउने परिणाम भने निराशाजन रहेको छ । राज्यले धान दिवस धुमधामका साथ मनाउँदै आएको छ । तर, आयत हुने धानको परिणाम वर्षेनी बढ्दो क्रममा रहेको छ ।

सरकारले यो वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदै छ । धान नेपालको प्रमुख खाद्यान्न बालीको रुपमा रहेको छ । धानको व्यवसायी प्रवर्द्धन गर्न २०६१ सालदेखि नियमित रुपमा प्रत्येव वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने गरिएको छ । आज एक दिनका लागि महत्सव तथा दिवस मनाउनका लागि राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरु खेतमा पुगेर यो दिवस मनाउँछन् । यो वर्ष सरकारले धानरोपाइ उपत्यका बाहिर गर्न लागेको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहको भनाइ छ । ‘यस भन्दा अघि धान दिवसका दिन उपत्यका भित्रै कार्यक्रम गर्ने गिरिन्थ्यो । पहिलो पटक उपत्यका बाहिर चितवनका कार्यक्रमको आयोजना गरिएको छ,’ मन्त्री साहले भनिन् ।

चितवनमा हुने धानदिवस तथा महोत्सवमा सरकाका प्रधानमन्त्री, गृहमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री लगायतको सहभागिता रहेने मन्त्री साहको भनाइ छ । उच्च पदस्त व्यक्ति र किसानको सहभागितामा चितवन रत्ननगरको बछौलीको ढेड बिगाह जग्गामा धान रोप्ने कार्यक्रम रहेको छ ।

कृषि प्रधान देश नेपालमा धान वर्षेनि धान दिवस धुमधामका साथ मनाउने गरिन्छ । तर, धान आयातको तथ्यांक हेर्दा दिवस दिवसमै सिमित भइरहेको छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा नेपालमा धान आयातको तथ्यांक निकै उराठलाग्दो रहेको छ । हरेक वर्षजस्तो धान आयतको परिणामा बढीरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ४८ हजार ३३६ मेट्रिकटन धान आयात गरेको नेपालले चालु आर्थिक वर्षको ११ महिनामा नै ३ लाख ७ हजार ४१७ मेट्रिकटन धान आयात गरिसकेको सरकारी तथ्यांक छ ।

२०७६/७७ सालमा सरकारले १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान रोपाइ गरेको थियो । त्यो वर्ष नेपालमा धानको उत्पादन ५५ लाख ५० हजार ८७८ मेट्रिकटन भयो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा नेपालको १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोपाइ भयो । सो वर्ष नेपालमा धानको उत्पादन ५६ लाख २१ ह्जार ७१० मेट्रिकटन भएको छ । त्यो वर्ष नेपालले ६ लाख ९८ हजार ६१ मेट्रिकटन धान आयत गरेको सरकारी तथ्यांकले देखाएको छ ।

आव २०७८/७९ मा नेपाल अधिराज्य भर १४ लाख ७७ हजार ३७८ हेक्टर जमिनमा धान खेती भयो । अघिल्लो आव भन्दा क्षेत्रफल बढीमा धान रोपाइ भए पनि उत्पादनमा भने गिरावट आएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार त्यो वर्ष नेपालमा ५१ लख ३० हजार ६२५ मेट्रिक टन मात्रै धान उत्पादन भयो । त्यो वर्ष नेपालले विदेशबाट ५ लाख ५१ हजार ७४९ मेट्रिकटन धान आयात गर्नु परेको थियो ।

गत आर्थिक वर्षमा पनि सरकारले ५ लाख ५७ हजार ७५२ मेट्रिकटन धान आयात गर्‍यो । गत वर्ष नेपालमा १३ लाख ३९ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको देखिन्छ । पछिल्लो पाँच वर्षमा सबैभन्दा कम धान उत्पदन पनि गत आर्थिक वर्षमा नै भएको देखिन्छ । गत वर्ष ४९ लाख ४६ हजार १४१ मेट्रिक धान उत्पादन भएको छ ।

चालु आवमा नेपालभरी १३ लाख ३४ हजार २७७ हेक्टर क्षेत्रफलमा धान खेती भयो । धान उत्पादन पनि गत वर्षको भन्दा केही बढ्यो । चालु आर्थिक वर्षमा नेपालमा ५२ लाख ३ हजार ४२६ मेट्रिकटन धान उत्पानद भयो । चालु आर्थिक वर्ष सकिन एक महिना पनि बाँकी छैन । ११ महिनाको अवधिमा नेपालले ३ लाख ७ हजार ४१७ मेट्रिकटन धान आयात गरिसकेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा कृषिमा आश्रित परिवार ५०.१ प्रतिशत छन् । नेपालमा आधाभन्दा बढी जनसंख्या कृषिमा आधारित भए पनि प्रमुख खाद्य बालीको रुपमा रहेको धानको उत्पादन भने अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । खेतीयोग् जमिन मासिदै जानुले धानको उत्पादनमा अपेक्षा अनुसारको वृद्धि हुन नसकेको कृषि विज्ञहरुको भनाइ छ । अर्को तर्फ कृषिमा काम गर्ने जनशक्ति पनि नहुनु समस्याको विषय भएको बागबानी विज्ञ चन्द्रमान श्रेष्ठको भनाइ छ । ‘पहाडका जग्गा बाँझा छन् । तराइ र सहका जग्गामा घर बनाएर सकिए । जुन कृषि क्षेत्रका लागि निकै दुख कुरा हो,’ श्रेष्ठले भने । अर्को तर्फ उत्पादन लागत पनि बढी भएकाले अवस्था गम्भीर भएको उनले बताए । कृषिमा लागत बढी हुने भएकाले खर्च धान्न समेत नसकिने अवस्था सिर्जना भएको उनले बताए ।

सरकारले कृषिका लागि अनुदान तथा विभिन्न गोष्ठिहरु आयोजना गरे पनि त्यसबाट कुनै पनि फाइदा हुन नसकेको उनको भनाइ छ । ‘वैदेशिक रोजगरुका कारण गाउँमा काम गर्ने मानिस पनि पाउन नसकिने अवस्था बनेको छ । यस्तो अवस्थामा उत्पादन कसरी बढ्न सक्छ,’ उनले भने । ‘राज्यले कृषिमा सुरक्षाको प्रत्याभुति गर्ने र कृषिमा लाग्नका लागि प्रोत्साहन गर्न नसक्दासम्म कृषिका लागि जस्तो सुकै कार्यक्रम आयोजना गरे पनि परिणाम आउन सक्दैन,’ उनले भने ।

पहाडका मानिसहरु काठमाडौं तथा तराइमा बसाइ सर्ने कारणले त्यहाँका जमिन बाँझा भए भने तराइ र काठमाडौंका खेतीयोग्य जमिनमा घर बनेको अवस्था छ । अर्को तर्फ सिचाइ सुविधा र मलको पनि अभाव हुने गरेको छ । जसले उत्पादनमा ह्रास आइरहेको छ । अहिले पनि अधिकांश पहाडका जिल्लामा जहाँ धान खेती हुन्छ त्यहाँ आकाशे पानीको भरमा खेती गर्नु पर्ने बाध्यता रहेको छ । तराइमा पनि सिचाइको राम्रो सुविधा हुन सकेको छैन् । किसानले रोपाइ गर्ने बेलामा मल नपाउने समस्या वर्षेनि वेहोर्दै आएका छन् ।

व्यवसायीक रुपमा एकीकृत तरिकाले खेती पनि नेपालमा निकै कम छ । टुक्रे जग्गामा खेती हुने गरेको छ । सानो क्षेत्रमा खेती गर्दा त्यसबाट हुने फाइदा पनि कम हुने भएकाले कृषि पेशालाई छोडेर अन्य पेशामा लाग्नेहरु बढीरहेका छन् । नेपालमा धानको उत्पादन नबढ्नुको प्रमुख कारणको रुपमा खुम्चदो धान खेती, जग्गा बाँझो रहनु र खेती योग्य जमिन घडेरीमा परीणत हुन रहेको विज्ञहरुको भनाइ छ ।

धान उत्पादन र आयातको तथ्यांक

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal