Skip to content
Prabhu

देशको शान र इज्जत बढ्ने गरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्ने गरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गरे । उनले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताए ।

बाहिर आएका सबै कुराहरु सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको बताए । ‘नेपाल वायुसेवा निगमले ६६ वर्ष पार गरेर ६७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म सबै नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त जे जति कामहरु गरेका छन्, त्यसको निरन्तरताको निमित्त यो व्यवस्थापकीय पक्षलाई पनि विशेष ध्यानाकर्षण गराउन चाहन्छु र निर्देशन दिन चाहन्छु,’ उनले भने ।

मन्त्री तामाङले आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु भए मन्त्रालय नियमन र छानबिनको दायरामा ल्याउन सचेत रुपबाट लागेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal