Skip to content
Prabhu

व्यावसायिक बाख्रापालनबाट वार्षिक ४ लाख बचत

बागलुङ । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक ४ लाख रुपैयाँ बचत गरिरहेका छन् । मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आएको हुन् ।

आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आउनुभएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताए । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उनले सबै खर्च कटाएर वार्षिक ४ लाख रुपैयाँ बचत भइरहेको जानकारी दिए ।

चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमुना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उनले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गरे ।

थापाका अनुसार अहिले फार्ममा तीनवटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । ‘आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ’, उनले भने।

अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताए । ‘लगानी नहुँदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु’, उनले भने ।

एक वर्षभित्रै दुई सय बाख्रा पु¥याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिए । ‘आधुनिक खोर निर्माणमा १० लाख रुपैयाँ लगानी भइसक्यो’, उनले भने, ‘बाख्रापालनबाट खर्च कटाएर वार्षिक ४ लाख बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।’ एक वर्षमा ३० वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताए ।

पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बताए । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उनको भनाइ छ ।

‘बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानुभन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ’, मनरुपाले भने, ‘परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।’ उनका अनुसार तीनवटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ ।

बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले १ लाख १९ हजार र जैमिनी नगरपालिकाले रु २३ हजार अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिए । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal