Skip to content
Prabhu

पुरानै सदस्य राखेर धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि नयाँ समिति गठन

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिका लागि नयाँ सिफारिस समिति गठन गरिएको छ । सरकारले पुरानै सदस्यहरु राखेर नयाँ समिति गठन गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा अर्थ सचिव मधुकुमार मरासिनी पदेन सदस्य हुन्छन् भने अर्का सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् ।

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले बोलाएको अन्तर्वार्ता तथा प्रस्तुतीकरणमा दुईजना उम्मेदवार मात्रै उपस्थित भएपछि यसअघिको सिफारिस समितिले त्यसको प्रक्रिया रद्द गरेको थियो । योसँगै अब अध्यक्ष नियुक्तिका लागि पुनः सुरुबाटै प्रक्रिया दोहोरीने छ । २० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । धितोपत्र बजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनुअगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर ६ महिनासम्म पनि सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ मा राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्ने समिति गठन गर्नुपर्ने व्यवस्था छ । सो समितिमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहने व्यवस्था व्यवस्था छ ।

योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको हो । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ । अध्यक्षको पदावधि चार वर्षको हुन्छ । धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्र बोर्डको सञ्चालक समिति बैठक महिनामा कम्तीमा १ पटक बस्नुपर्ने र सञ्चालक समिति बैठक अध्यक्षले बोलाउनुपर्ने व्यवस्था गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal