Skip to content

बजार पाउन थालेपछि कोशीमा ड्रागनतर्फ आकर्षित हुँदै किसान

nabil bank

मोरङ । ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ ।

प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिए ।

आर्थिक वर्ष २०७९र८० मा प्रदेशभरबाट एक हजार दुई सय १९ दशमलव २२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताए । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय छन् । बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरेका छन् । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फ ड्रागन फलको खेती गरिरहेका छन् ।

खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उनको भनाइ छ । कुल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ । वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उनले बताए। हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिए।

बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उनले बताए । उनले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गरेका थिए। खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उनको भनाइ छ ।

कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लागेका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताए। तत्कालीन समयमा ठूलो जोखिम लिएर एक करोड रुपैयाँको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेका बताए।

उनको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिनुहुन्छ । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाएका छन् । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उनको भनाइ छ ।

एकपटकमा करिब तीन क्विन्टल फल टिप्दै गरिएको उनले बताए । सुरु थोकमा प्रतिकेज ३ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी रु तीन सयका दरले बिक्री भइरहेको उनको भनाइ छ । राईले भने, ‘ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ’, उनले भने।

मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताए । उनका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime