Skip to content
Prabhu

विमान टर्बुलेन्समा फस्दा छतमा ठोक्किए यात्री, आपतकालीन अवतरण  

एजेन्सी । स्पेनको राजधानी म्याड्रिडबाट उरुग्वेको राजधानी मोन्टेवीडियो जाँदै गरेको एयर यूरोपाको एउटा फ्लाइट टर्बुलन्सको शिकार भएको छ । यस घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन् । घटनाको एक भिडियो सामाजिक सञ्जालमा देखा परेको छ, जसमा एक यात्रु झट्का लागेपछि विमानको छतमा अड्किएका छन् । उनलाई अन्य यात्रुहरूले तल झारेका थिए । एयर यूरोपाको फ्लाइटले ब्राजिलको नेटाल एयरपोर्टमा आपतकालीन अवतरण गरेको थियो ।
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार एयर यूरोपाको फ्लाइट यूएक्स०४५ को बोइङ ७८७–९ मा यो घटना सोमबार जुलाई १ मा भएको बताइएको छ । फ्लाइट डाटाका अनुसार म्याड्रिडबाट उडान भर्ने यो फ्लाइटमा करिब चार घण्टासम्म टर्बुलन्स रह्यो । उच्च उचाइमा उडिरहेको यो विमानमा अचानक टर्बुलन्स सुरु भयो । टर्बुलन्सको गति यति तीव्र थियो कि फ्लाइटलाई ब्राजिलमा आपतकालीन अवतरण गर्नुपर्यो । घाइतेहरुलाई अस्पतालमा भर्ना गरियो । अन्य यात्रुलाई उरुग्वे पठाउनका लागि अर्को विमानको व्यवस्था गरिएको थियो ।
सोमबारको यो घटनासँग सम्बन्धित धेरै फोटो–भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । जसमा विमानमा पनि ठूलो क्षति भएको छ । सीटहरु पनि उखेलिएका छन् ।  प्लेनको छत पनि धेरै ठाउँमा क्षतिग्रस्त भएको छ । तीव्र झट्का कारण धेरै यात्रु विमानको छतसँग ठोक्किएका छन् । यस क्रममा एक यात्रु ओभरहेड लगेज बिनमा फसेका थिए, जसलाई पछि अन्य यात्रुहरुले तल झारेको भिडियोमा देख्न सकिन्छ ।
उक्त घटनाका सम्बन्धमा एयर यूरोपाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “भयानक टर्बुलन्सका कारण मोन्टेवीडियो जाँदै गरेको हाम्रो उडानलाई नेटालतर्फ डाइभर्ट गरिएको छ । विमानको सुरक्षित अवतरण भएको छ र घाइतेहरुको उपचार भइरहेको छ । आज दिउँसो एक विमान यात्रुहरु लिन र उरुग्वेको यात्रा जारी राख्न म्याड्रिडबाट उडान भर्नेछ। थप जानकारी आएपछि  थप जानकारी दिनेछौँ ।”
ब्राजिलका स्वास्थ्य अधिकारीहरूका अनुसार, टर्बुलन्सको दौरान केही यात्रुहरुको टाउको, घाँटी र छातीमा चोट लागेको छ । जसमा ३६ यात्रुको चोटको उपचार गरिएको छ र २३ जनालाई अस्पताल लगिएको छ ।
उरुग्वेको एक यात्री इभेंजेलिना साराभियाले भनिन्, “एक व्यक्ति प्लास्टिकको छत र त्यसको पछाडि धातुको छतको बीचमा झुन्डिएका थिए र उनलाई तल झार्नु परेको थियो । यस्तै एक बच्चाको साथ पनि भयो ।”
एक अन्य यात्री रोमीना अपाईले पनि उनी त्यो मान्छेको छेउमा बसिरहेकी थिइन्, जो छतमा ठोक्किएका थिए । “उनी उडेर फ्लाइटको छतमा, लगेज बिनमा फसेका थिए । बाँकी यात्रुहरु सीटमाथि, अन्य व्यक्तिहरूको माथि खसेका थिए ।”
रिपोर्ट अनुसार, प्लेन टर्बुलन्सको कारण यति गम्भीर घटना अपेक्षा गरिएको थिएन् । फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार अनुसार सन् २००९ र २०२२ को बीच संयुक्त राज्य अमेरिकामा फ्लाइट टर्बुलन्सबाट मात्र एक सय ६३ जनामा गम्भीर चोट लागेको थियो । तर सोमबार एयर यूरोपामा भएको यो घटना एक महिनाभित्रको दोस्रो घटना हो । हालै सिंगापुर एयरलाइन्समा टर्बुलन्सको एक घटनामा विमानमा यात्रा गरिरहेका ७३ वर्षका एक व्यक्तिको मृत्यु भएको थियो । त्यो उडानमा सवार ७० भन्दा बढी अन्य व्यक्ति घाइते भएका थिए ।
टर्बुलन्स सामान्य घटना हो र सामान्यतया यो खतरनाक हुँदैन । यो प्रायः आँधी र जेट स्ट्रीमसहित हावा गति र दिशामा परिवर्तनका कारण हुन्छ । यसले विमानको उचाइ र गतिमा अचानक परिवर्तन गराउन सक्छ । यस्तो अवस्थामा जो यात्रीले सीट बेल्ट नलगाएका हुन्छन् उनीहरु घाइते हुने सम्भावना बढी हुन्छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal