Skip to content
Prabhu

हेटौंडा उपमहानगरपालिकाद्वारा हेटौंडामा नमुना सडक बनाइँदै

बागमती । हेटौंडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका दुई सडकलाई नमुना सडक बनाउने भएको छ । हेटौंडा –४ स्थित रजतजयन्ती र हेटौंडा ७ र ८ को सिमानामा रहेको सडकलाई नमुना सडक बनाउन लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमुना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए।

सहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने कर्नाबत्ती मार्गलाई स्मार्ट लाइट, फुटपाथ, नालासहित नमुना सडकको रुपमा निर्माण गरिने उनले बताए।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले ती दुवै सडकलाई फराकिलो बनाई नमुना सडकको रुपमा स्तरोन्नति गर्ने काम अघि बढाएको उनले बताए । रजत जयन्ती मार्गलाई चार लेनको सडकको रुपमा विकास गर्दै दुवैतर्फ फुटपाथ, बेरियर, सडक बत्तीसहित अक्सपाल्ट पिच गरिने र क्याक्पाडाँडा पुलदेखि हेटौँडा–१५ तिनकुने चौकसम्मको कर्णबत्ती मार्गको डेढ किलोमिटर सडकलाई दाँयाबाँया साढे सात मिटर चौडा गरिने योजना रहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख झपटबहादुर थापाले बताए ।

सङ्घीय सरकारको विनियोजित रकमबाट यी दुई सडक तथा हेटौँडा–६ को वडा कार्यालय भवनसमेत निर्माण गरिने उहाँले जानकारी दिए । तीनवटै योजना आगामी १८ महिनामा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको आयोजना प्रमुख थापाको भनाइ छ ।

नमूना सडक निर्माणले हेटौंडाको पहिचान बढाउन मद्दत पुग्नुका साथै पर्यटन पर्यावरणमा सहयोग पुग्ने हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले बताए। यी दुई सडक स्तरोन्नति हुँदा जनताले अपेक्षा गरेको विकास काम प्रत्यक्षरुपमा अनुभूति गर्ने र आगामी दिनमा नगरक्षेत्रका अन्य सडकलाई पनि स्मार्ट बनाउन सकिने उनले बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal