काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लिएर नतिर्ने प्रवृत्तिले बैंकिङ क्षेत्रमा समस्या आएको बताएका छन् । मौद्रिक नीतिमा सुझाव लिन बिहीबार सरोकारवालाहरुसँगको छलफलमा गभर्नर अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लक्षित गदै ‘लोन लि खा नतिर’ भन्ने प्रवृत्ति बैंकिङ क्षेत्रमा असर देखिनुको एक कारण रहेको बताएका हुन् ।
‘बैंकिङ क्षेत्रमा लोन लिने पिडित वा लोन लि, नतिर भन्ने खाले पिडितको असर पनि सँगसँगै छ,’ गर्भनर अधिकारीले भने, ‘ऋण तिर्नुपर्दैन भन्ने समुदाय पनि देखिए । त्यसले पनि हिजो बैंक हिचकिचाएको देख्छौं ।’ हास्यकलाकार मनोज गजुरेलले व्यवसायी प्रसाईंको चिनियाँ नाम ‘लोन लि खा’ रहेको भन्दै व्यंग्य गरेपछि पछिल्लो समय कर्जा लिएर नतिर्ने प्रवृत्तिलाई यही नाम दिइने गरिएको छ । गभर्नर अधिकारीले पनि गजुरेलकै शब्द प्रयोग गर्दै बैंकविरुद्धको अराजक प्रवृत्ति अर्थतन्त्रमा समस्या सिर्जना गराउने कारक भएको बताएका हुन् ।
मौद्रिक नीतिबारे कुरा गदै अधिकारीले व्यावसायिक क्षेत्रले मौद्रिक नीतिमा सुझाव दिँदा मौद्रिक नीतिका उपकरण भन्दा पनि बढी म्याक्रोप्रुडेन्सियल कुरा बढी आउने गरेको बताए । व्यवसायीहरु लोन टु भ्यालु रेसियो, पुँजीमा जोखिम भार घटबढका माग बढी गर्ने गरेको उनको भनाइ थियो । ‘मौद्रिक नीति जारी गर्दा नियामकीय हेरफेर पनि हुने गरेकाले यी माग आउनु स्वभाविक हो,’ उनले भने ।
मौद्रिक नीति सबै कुरालाई सम्बोधन गर्ने ‘जादुको छडी’ नभएको उनको भनाइ थियो । ‘जादुको छडी झैं मानेर मौद्रिक नीतिले सबै समस्या समाधान गर्छ भन्न पनि मिलेन,’ अधिकारीले भने । राष्ट्र बैंकले गनुपर्ने कुरा गरिरहेको भन्दै उनले केही समस्या पुराना कारणले सिर्जना भएको पनि दाबी गरे ।
यद्यपि मौद्रिक नीतिले गर्नैपर्ने केही काम राष्ट्र बैंकले गर्ने भन्दै अर्थतन्त्र चलायमान बनाउने जस्तो कुरामा राष्ट्र बैंक सचेत रहेको उनको दाबी थियो । बैंक, व्यवसायी तथा सरकारी पक्षले हिजोको दिनमा गल्ती भएको भए आज महसुस गर्दै सच्याउनुको विकल्प नभएको पनि उनले बताए ।
अहिले पनि बैंकहरुलाई दबाब रहेको उनको भनाइ थियो । ‘नाफा घट्दो छ । कुल पुँजीका आधारमा प्रतिफल ८ प्रतिशतको हाराहारीमा नाफा छ । यो निकै कम हो,’ गभर्नर अधिकारीले भने, ‘व्यवसायिक समुदायमा आफ्नै दबाब छ । रि पेमेन्टको बेला छ । आर्थिक शिथिलता छ । उद्योगको क्षमता उपयोग कमजोर छ । फलस्वरुप ऋणको उपयोग कम हुने नै भयो ।’











प्रतिक्रिया दिनुहोस्