Skip to content
Prabhu

दुबईको फराकिलो बाटोमा ‘डबल डेकर’ हाँक्दै नेपाली आमा

दुबई । सन् २०१५ मा काम खोज्दै पहिलो पटक दुबई आउँदा शान्तिकुमारी भण्डारीलाई यहाँका फराकिलो सडकले लोभ्याउँथ्यो । नेपालमा छँदा टेम्पो चालक महिलालाई हेख्दा आफू पनि टेम्पो चलाउन पाए गुजारा सहज हुन्थ्यो भन्ने सोच्ने भण्डारीले त्यो सपना दुबईका सफा र फराकिलो सडकमा देख्न थालेकी थिइन् ।
तर के गर्नु न उनलाई गाडी चलाउन आउँथ्यो न त ड्राइभिङ सिक्नका लागि पैसा नै थियो । “दुबई आएर ब्यूटी पार्लरमा  काम गर्दा जीविकोपार्जन गर्नै मुस्किल थियो गाडी सिक्नेका लागि पैसा जुटाउनु त परको कुरा भयो”, ४१ वर्षे भण्डारीले भनिन् ।
उनी नौ वर्ष अघि  यूएई दिदीको आग्रहमा एक ब्यूटी पार्लरमा काम गर्न थालेकी थिइन् । त्यतिबेला नै उनको ड्राइभिङ्गको चाहना बलियो बनेको थियो ।
“यहाँका सडकहरू यति सुन्दर थिए कि म अझ दृढ भएँ । तर फेरि पनि यो सजिलो थिएन किनभने यसका लागि पैसा चाहिन्थ्यो र म पार्लरमा काम गर्दा ड्राइभिङ्ग सिक्न जान सक्दिनथेँ । त्यसैले मैले अवसरको पर्खाइमा थिए यसका लागि पैसा जुटाउने निर्णय गरेँ”, उनले विगत सम्झिइन ।
समयक्रममा, यस्तो भइदियो कि उनको सपना पूरा गर्न सारा ब्रह्माण्ड नै मिलेर काम गरिरहेको जस्तो भयो । उनले स्कुल बस अटेन्डेन्टका लागि विज्ञापन देखिन् ।
“मैले यो जागिर खाने निर्णय लिएँ, यद्यपि त्यहाँ काम गर्दा पार्लरमा भन्दा तलब कम पाइन्थ्यो,” उनले भनिन् । अर्को एक वर्ष र आधा वर्षसम्म उनले आफूले बचाएको पैसाले ड्राइभिङ्ग कक्षा लिइन् । त्यसपछि उनी ट्याक्सी ड्राइभर बनिन् । दुबईका अत्याधुनिक सडकमा दुई वर्षसम्म ट्याक्सी चलाइन् ।
ट्याक्सी चलाउँदै गर्दा दुबईको रोड एन्ड ट्रान्सपोर्ट अथोरिटी (आरटीए)ले महिलाहरुलाई ‘डबल डेकर’ बसमा ड्राइभरका लागि विज्ञापन निकाल्यो । “म पनि जाँउ भन्ने लाग्यो तर म त्यसका  लागि योग्य छैन भन्ने लाग्थ्यो किनभने मसँग अनुभव थिएन । तर भाग्यवश, एक निजी कम्पनी ड्राइभरहरू खोजिरहेको थियो । मैले आवेदन दिएँ र मैले जागिर पाएँ” उनले भनिन् ।
रातारात सेलिब्रिटी
जब शान्तिले त्यो जागिर सुरु गरिन, उनले वास्तवमै इतिहास रचिन् । “मलाई भनिएको थियो कि म मध्यपूर्वमा पर्यटन क्षेत्रमा महिला डबल डेकर बस ड्राइभरको रूपमा पहिलो चालक महिला थिएँ,” उनले भनिन् । यसले उनलाई नेपालमा समेत रातारात सेलिब्रिटी बनायो ।
“म यूएई र मेरो कम्पनीलाई यो अवसरका लागि निकै आभारी छु,” शान्तिले भनिन्, “म आफ्नो ड्राइभिङ्गको चाहनालाई महसुस गर्न मात्र सक्षम भएँ, तर यस देशमा राम्रो जागिरको अवसरहरू पनि पाएँ र नेपालमा रहेको मेरो १४ वर्षीय छोरालाई सहयोग गर्न पनि सक्षम भएँ ।”
शान्तिको सामान्य दिन बिहान ८ बजे सुरु हुन्छ । उनी दिनको ३ देखि ४ वटासम्म टुर गर्छिन् । रेड लाइन र ग्रीन लाइनका दुई रुटमा गाडी चलाउँछिन् । नयाँ र पुरानो दुबई जिल्लासम्म पुग्छिन् ।
सामान्य दिनमा उनी नयाँ क्षेत्रमा उनलाई साढे  दुई घण्टासम्म लाग्छ भने पुराना क्षेत्रका टुरमा सामान्यतयाः एक घण्टा ४५ मिनेट लाग्छ । उनका अनुसार बस चलाउन कार चलाउनु भन्दा धेरै फरक हुन्छ ।
“७७ सीट भएको बस घुमाउँदा र रिभर्स गर्दा धेरै ध्यान दिनुपर्छ । यो पुरानो जिल्लाका साँघुरा गल्लीहरूमा कहिलेकाँही समस्याल पनि हुनसक्छ । यो पर्यटक बस भएकाले विशेष ध्यान दिनुपर्छ । जहाँ यात्रुहरूले अचानक उभिन सक्छन् र तस्बिर लिनको लागि हिँड्न पनि सक्छन् । त्यसैले बिस्तारै चलाउनुपर्छ भन्ने कुरा मैले राम्ररी सिकेकी छु”, उनले भनिन् ।
महिला ड्राइभरका रुपमा, यात्रुहरूले उनलाई बधाई दिँदा र उनीसँग तस्बिर खिच्न चाहँदा उनलाई गर्व लाग्छ रे ।
अन्य महिलाहरूका लागि प्रेरणा
मिडिल ईस्ट, बिग बस टूर्सका कार्यकारी निर्देशक माइक लीस जसले शान्तिलाई जागिर दिए उनले पनि शान्तिले आवेदन दिँदा सबै मापदण्ड पूरा गरेको बताए । “हामी हाम्रो स्टाफका लागि विभिन्न मापदण्डको परीक्षण गर्छौ, जसरी लन्डन, न्युयोर्क वा सिड्नी जस्ता सहरमा पनि गरिन्छ । शान्तिको ड्राइभिङ्ग र ग्राहक सेवामा असाधारण रेकर्ड छ र उनले पुरुषप्रधान भूमिकामा राम्रो उदाहरण कायम गरेकी छिन्”, उनले भने ।
उनका अनुसार, शान्ति हाल कम्पनीको दुबई, अबुधाबी र मस्कटका ५४ ड्राइभरहरूको टोलीमा एकमात्र महिला ड्राइभर हुन् । “हामी उनीजस्ता महिलाहरूलाई सशक्त बनाउन चाहन्छौँ र आशा गर्छौं कि उनले अरूलाई पनि प्रेरित गर्नेछिन्”, उनले थपे ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal