Skip to content
Prabhu

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म मनसुनजन्य विपद्मा परी २८ जनाले मृत्यु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट २८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार यो अवधिमा १ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका छन् । चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्बाट ४६ घर पूर्ण क्षति भएको र ३६ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए । चालु आवमा हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्यु भएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिए ।

चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए । सबै विपद्का घटनाबाट १७१ चौपायाका मरेका छन् ।

विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए उनले मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिँदै उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमाण्ड पोष्ट’ खडा गरी विपद्बाट धनजन जोगाउने कार्यक्रम भइरहेका पनि बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal