Skip to content
Prabhu

तनहुँमा पहिरोमा परी ३ बेपत्ता, स्याङ्जामा पुरिएर ३ जनाको मृत्यु

दमौली । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

पहिरामा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।

ढुंगा लागेर एकको मृत्यु

ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

स्याङ्जामा पहिरामा पुरिएर ३ जनाको मृत्यु
त्यसैगरी स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।

पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा जानुभएका उनीहरूको पुरिएर ज्यान गएको हो । उनीहरूको घरनजिक आज बिहान पहिरो खसेको थियो ।

बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । उक्त पहिरामा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal