Skip to content
Prabhu

के एआईका लागि हामीसँग पर्याप्त ऊर्जा छ ?

बीबीसी । यदि तपाईंले आफ्नो ल्यापटपको तल्लो भागलाई छोएर हेर्नु भयो भने त्यो भाग तपाईलाई तातेको पाउनुहुनेछ । इमेललाई डिस्प्ले गर्नदेखि स्प्रेडसीट बनाउन र धेरै एप चलाउनका लागि ल्यापटपले करोडौं क्याल्कुलेशनहरू गर्नुपर्छ जसमा ऊर्जा लाग्छ ।
यही कारण हो कि जब तपाईं लामो समयसम्म काम गर्नुहुन्छ भने ल्यापटपको ब्याट्री छिटो डिस्चार्ज हुन्छ । अब कल्पना गर्नुहोस् विश्वभरिका ती लाखौं करोडौं कम्प्युटरहरूको जो स्प्रेडसीट बनाइरहेका छैनन् तर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् (एआई) का लागि एल्गोरिदम बनाइरहेका छन् ।
यो एआईको सहयोगमा औषधि उत्पादन गर्न सकिन्छ । जसले सबै प्रकारका क्यान्सरको उपचार गर्न सक्छ । पृथ्वीको बढ्दो तापक्रमलाई रोक्न पनि सहयोग मिल्न सक्छ । यति मात्र होइन, यस्ता धेरै कामहरू जो मानिसहरू गर्न चाहँदैनन्, ती एआईको सहयोगले मेसिनहरूले गर्न सक्नेछन् ।
तर एआईलाई विकास गर्नको लागि करोडौं कम्प्युटरहरू चलाउन र तिनीहरूलाई चिसा बनाइराख्न आवश्यक एयर कन्डिसनिङका लागि विशाल मात्रामा ऊर्जा चाहिन्छ ?
संसार बदलिरहेको एआई
आर्टिफिसियल इन्टेलिजेन्स वा एआई ती अत्याधुनिक वा सुपर एडभान्स कम्प्युटर प्रोग्रामहरू हुन् जसले विशाल मात्रामा डाटा प्रोसेस गर्न सक्छन् । अर्थात् ती सामान्य कम्प्युटर प्रोग्रामभन्दा धेरै जटिल काम गर्न सक्छन् र तिनीहरूको डाटा प्रोसेसिङ क्षमता मानिसको दिमागको क्षमताभन्दा धेरै बढी हुन्छ, जसको कारणले ती धेरै समस्याहरूको समाधान निकाल्न सफल भइरहेका छन्।
एआईसँग सम्बन्धित सम्भावनाबारेमा हामीले डा मार्क वान राइमेनमसँग कुरा गरेका थियौ । जो सिड्नीस्थित स्ट्राटेजिक फ्यूचरिस्ट हुन् । अर्थात् डा मार्क भविष्यमा कसरी प्रविधिको विकास हुन सक्छ भन्ने अनुमान लगाउँछन् र मूल्याङ्कन गर्छन् ।
उनी स्वास्थ्य सेवाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स वा एआईको प्रभाव अहिले देख्न सकिने बताउँछन् ।
“गुगलले मेड जेमिनी नामको एआई प्रोग्राम बनाएको छ, जसको प्रयोग गर्दा डाक्टरहरूले बिरामीको जाँच गर्दा सहायकको रूपमा प्रयोग गर्छन्”, उनले भने, “डीप माइन्डको ‘अल्फा फोल्ड’ एक यस्तो एआई प्रोग्राम हो जसले शरीरमा प्रोटिन कसरी काम गरिरहेको छ भन्ने पत्ता लगाउँछ । यसको प्रयोगबाट केवल रोगहरूको उपचारमा मात्र सहयोग मिल्दैन तर ती रोगहरूबाट बच्न पनि सहायता मिल्छ ।”
चिकित्सा क्षेत्रमा एआई
डिप माइन्डको आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम ‘अल्फा फोल्ड’ले चिकित्सा क्षेत्रमा धेरै सम्भावना उजागर गरिरहेको छ । एआई हामीलाई विश्वको सबैभन्दा ठूलो समस्या अर्थात् पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न पनि मद्दत गर्न सक्छ ।
मार्क वान राइमेनम भन्छन्– एआई अब जलवायु परिवर्तनलाई नियन्त्रण गर्नमा हाम्रो मद्दत गर्दैछ । हाम्रोमा अब यस्ता प्रोग्रामहरू छन् जसको मद्दतले हामी प्राकृतिक प्रकोप कहाँ आउनेछ भन्ने पत्ता लगाउन सक्छौं । अब मौसममा आइरहेको परिवर्तनको सटीक अनुमान लगाउन सकिन्छ ।
मार्कका अनुसार, “एआईबाट हामीले  प्राकृतिक प्रकोपबाट बच्नका लागि पहिल्यै सचेत गर्न सक्छौं । यसको धेरै उदाहरणहरू हाम्रा अगाडि छन् । यदि भविष्यतर्फ हेर्ने हो भने एआईको प्रयोग क्वान्टम कम्प्युटरहरूसँग गर्न सकिन्छ । जसले जलवायु परिवर्तनका गम्भीर परिणामहरूलाई नियन्त्रण गर्न ठूलो मद्दत मिल्न सक्छ ।”
मार्क वान राइमेनमले हामी आगामी समयमा सम्भवतः हामी आर्टिफिसियल सुपर इन्टेलिजेन्स पनि बनाउन सक्ने र जसले विश्वका हरेक व्यक्तिको जीवन परिवर्तन गर्न सक्ने बताउँछन् ।
मार्क वान राइमेनमले आर्टिफिसियल सुपर इन्टेलिजेन्स सम्पूर्ण मानव प्रजातिबाट धेरै छिटो र सक्षम हुनेमा विश्वास गर्छन् । यो सम्भावना जति डरलाग्दो छ उति नै रोचक पनि भएको उनको भनाइ छ ।
मार्कको मान्यता छ कि यसबाट विश्वका जटिल समस्याहरू समाधान हुन सक्नेछन् । एआईको मद्दतले न्युक्लियर फ्युजन गर्न र सोलार प्यानलहरूलाई सुधार गर्न सहयोग मिलिरहेको छ ।
भविष्यमा जब सुपर आर्टिफिसियल इन्टेलिजेन्स विकसित हुनेछ, त्यसबेला हामी ती चीजहरूबाट ऊर्जा बनाउन सफल हुन सक्छौं जुन हाल असम्भव लागिरहेको छ ।
यो सुन्दा अचम्म लाग्न सक्छ तर यदि हामी मानिसभन्दा बढी बुद्धिमान चीज बनाउन सफल हुनेछौं भने केही पनि सम्भव हुनेछ । सुपर आर्टिफिसियल इन्टेलिजेन्सको कारण सबैथोक यति धेरै मात्रामा उपलब्ध हुनेछ कि विश्वका सबै समस्याहरू समाप्त हुन सक्नेछन् ।
एआईको ऊर्जा आवश्यकताहरू
लस एन्जलसस्थित साउदर्न क्यालिफोर्निया युनिभर्सिटीमा अनुसन्धान प्रोफेसर केट क्रफोर्ड पृथ्वीमा एआईको बढ्दो प्रभावको अध्ययन गर्छिन् । उनी अहिले हाम्रो दैनिक जीवनमा एआईको उपस्थिति धेरै ठाउँमा देख्न सकिने तर्क गर्छिन् र
फोनलाई अनलक गर्न फेस डिटेक्शनदेखि स्प्याम इमेलको पहिचान एआईको मद्दतले हुन्छ । यसकै सहयोगले भाषाहरूको अनुवाद गर्ने प्रोग्रामहरू बनाइन्छन् ।
तर समस्या के छ भने एआई प्रोग्राम बनाउन र सञ्चालन गर्ने कम्प्युटरहरू चलाउनमा ठूलो मात्रामा बिजुली खर्च हुन्छ । एक अनुमानअनुसार सन् २०२७ सम्म एआईले मात्र त्यति धेरै बिजुली प्रयोग गर्नेछ जति बिजुली नेदरल्याण्ड जस्तो ठूलो देश प्रयोग गर्छ ।
प्रोफेसर केट क्रफोर्ड भन्छन्, “एआईलाई विकास गर्न वा प्रयोग गर्न ठूलो संख्यामा मेसिनहरू र कम्प्युटरहरू आवश्यक पर्छन् जसले एल्गोरिदमको प्रयोग गरेर करोडौं क्याल्कुलेशन गर्छन् ।”
“पछिल्लो दुई तीन वर्षमा यी सुविधाहरूको निर्माणमा ठूलो वृद्धि भएको छ । यस कामका लागि विशाल डाटा सेन्टरहरू बनाउनुपर्छ जसमा सयौं ठूला कम्प्युटरहरू हुन्छन् । ठूला गोदामहरूको आकारका यी भवनहरूमा झ्यालहरू हुँदैनन् । तिनीहरूलाई चिसो पनि राख्नुपर्छ”, उनले भने ।
विश्वमा यस्ता नौदेखि बाह्र हजार डाटा सेन्टरहरू छन् । यहाँ एआई चलाउन शक्तिशाली सुपर कम्प्युटरहरूको प्रयोग गरिन्छ जसबाट धेरै गर्मी पनि उत्पन्न हुन्छ ।
केट क्रफोर्ड भन्छिन्– सामान्यतः डाटा सेन्टर नदी वा ताल जस्ता पानीका स्रोतहरूको नजिक बनाइन्छन् ताकि तिनीहरूलाई चिसो राख्नका लागि पर्याप्त मात्रामा पानीको आपूर्ति सुनिश्चित गर्न सकियोस् । तर पानी पम्प गर्न र कम्प्युटरहरू चलाउनका लागि ठूलो मात्रामा बिजुली आवश्यक पर्छ ।
एआई मोडेलले पहिलेभन्दा बढी ऊर्जा प्रयोग गर्नेछन्
केट क्रफोर्डका अनुसार एआईले विश्वको बिजुली बजेटको आठदेखि दस प्रतिशत भाग प्रयोग गर्दैछ, जुन धेरै नै हो । एआईका लागि बिजुलीको आवश्यकताहरू बढ्नेछन्, जब जनरेटिभ एआईको प्रयोग बढ्नेछ । जनरेटिभ एआई त्यो आर्टिफिसियल इन्टेलिजेन्स हो जसले हाम्रासँग च्याट गर्न सक्छ, तस्वीरहरू बनाउन सक्छ र स्याम्पल म्यूजिकको मद्दतले संगीत पनि तयार गर्न सक्छ ।
दावोसमा २०२४ को वर्ल्ड इकोनोमिक फोरमको बैठकमा च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका प्रमुख सैम अल्टमनका अनुसार एआईका नयाँ मोडेलहरूले पहिले लगाइएका अनुमानभन्दा धेरै ऊर्जा प्रयोग गर्नेछन् ।
केट क्रफोर्डका अनुसार, एआई ऊर्जा संकटतर्फ बढिरहेको छ । जनरेटिभ एआईले धेरै मात्रामा बिजुली प्रयोग गर्नेछ । उनी भन्छिन, “हाम्रा बिजुली उत्पादन संयंत्रहरूमा पहिले नै आपूर्तिको दबाब छ, जुन बढ्दै जानेछ ।”
यदि यस समस्याको समाधान निकालिएन र ऊर्जाका नयाँ स्रोतहरू बनाइएन भने समस्या गम्भीर हुन सक्छ ।
के हरित ऊर्जा एआईको लागि बिजुली आवश्यकताहरू पूरा गर्न सक्छ?
विश्व पहिले नै कार्बन उत्सर्जनको कारण जलवायु परिवर्तनको संकटसँग जुधिरहेको छ, यस अवस्थामा राम्रो हुने थियो यदि एआई चलाउनका लागि बिजुली आवश्यकताहरू सौर ऊर्जा वा अन्य पुनर्नवीकरणीय वा हरित ऊर्जा स्रोतहरूबाट पूरा गरिए भने तर हालका लागि यो पर्याप्त छैन ।
केट क्रफोर्ड हाल एआई चलाउनका लागि बिजुलीको कमीलाई पारंपरिक स्रोतहरूबाट उत्पादन गरिएका बिजुलीबाट पूरा गरिएको छ । प्रविधि उद्योगका बिजुली आवश्यकताहरू पूरा गर्न परमाणु ऊर्जा र थर्मल ऊर्जा प्रयोगबारे पनि छलफल चलिरहेको छ । यहाँसम्म कि ठूला डाटा सेन्टरहरूको नजिक परमाणु संयंत्रहरू बनाउने विचार पनि गरिँदैछ ।
मानिसहरूको जीवनस्तरबाट पनि जोडेर हेर्नुपर्छ बिजुलीको प्रयोग
युकेस्थित एक सल्लाहकारी कम्पनी एनर्जी सिस्टम्स कैटापल्टका एआई प्रबन्धक सैम यङका अनुसार बिजुलीको प्रयोगलाई देशहरूमा मानिसहरूको जीवनस्तरसँग पनि जोडेर हेर्न सकिन्छ । जति धेरै देशहरूमा विशेष गरी कम विकसित देशहरूमा मानिसहरूको जीवनस्तर बढ्दै जान्छन उसैगरी बिजुलीको माग पनि बढ्दैछ । अर्थात् केवल एआई मात्र होइन, हामी सबैको कारणले पनि बिजुलीको माग बढ्दैछ ।
सैम यङ भन्छन्, “दक्षिण पूर्वी एशियाका देशमा मानिसहरूको बिजुली आवश्यकताहरू बढ्दैछन् किनकि अब पहिलेभन्दा धेरै मानिसहरू एयरकन्डिसनिङ प्रयोग गर्दैछन्, त्यसैले ती देशहरूले आफ्नो बिजुली उत्पादन क्षमता बढाउनु परेको छ ।”
सन् १९८० को दशकको तुलनामा बिजुलीको प्रयोग अहिले तीन गुणा बढेको छ । तर हामी यस आवश्यकतालाई पूरा गर्न सकिरहेका छौं । सैद्धान्तिक रूपमा हेर्ने हो भने, पूरै विश्वको बिजुली आवश्यकतालाई पूरा गर्न सकिन्छ तर व्यवहारिक रूपमा यो त्यति सजिलो छैन ।
सैम यङ विश्वभर बिजुली उत्पादन एक समान छैन । सामान्यतया प्रत्येक देशको आफ्नो पावर ग्रिड हुन्छ तर यूरोपका देशहरूको पावर ग्रिड एक अर्कासँग जोडिएको बताउँछन् । अर्थात् स्वीडेनमा हाइड्रो पावरबाट बनेको बिजुली तारमार्फत इटली र अन्य यूरोपीय देशहरूलाई आपूर्ति गर्न सकिन्छ । तर विश्वका अन्य भागहरूमा यस्तो छैन ।
देशहरूको आफ्नै पावर ग्रिडहरू छन्, तर धेरै देशहरूमा ती पर्याप्त बिजुली देशका सबै भागसम्म पुग्न सक्दैन ।
जीवनस्तर बढ्ने कारणले भएको विद्युत् मागको वृद्धि
धेरै देशहरूमा मानिसहरूको जीवनस्तर बढ्नुका साथै एआई चलाउनका लागि पनि विद्युत् माग बढेको छ । सैम यङ्गका अनुसार, जति जति एआईका मोडेलहरू थप विकसित र शक्तिशाली बन्दै जान्छन्, तिनलाई चलाउन अझ बढी विद्युत् आवश्यक हुनेछ ।
तर दोस्रो कारण भनेको मानिसहरूले एआईको प्रयोग बढाउँदै जानेछन् । जसले गर्दा तिनलाई चलाउनका लागि विद्युत् माग अझै बढ्नेछ । केही देशमा पहिले नै डाटा सेन्टरहरू देशको कुल विद्युत् प्रयोगको ठूलो हिस्सा उपभोग गरिरहेका छन् ।
सैम यङ्ग भन्छन्, “यसको सबैभन्दा राम्रो उदाहरण आयरल्याण्ड हो, जहाँ देशको कुल विद्युत् प्रयोगको ३० प्रतिशत हिस्सा केवल डाटा सेन्टरहरूले उपभोग गर्छन् ।”
तर यो विद्युत् केवल एआईमा मात्र प्रयोग हुँदैन । यसको प्रयोग हामी भिडियो र म्यूजिक स्ट्रीमिङ र क्लाउड कम्प्युटिङमा पनि हुनेछ । आगामी केही वर्षमा विद्युत् प्रयोग ५० प्रतिशतभन्दा बढी पनि बढ्नसक्छ ।
विद्युत् मागको बढ्दो आवश्यकता पूरा गर्नका लागि केही अन्य देशहरू पनि ऊर्जा उद्योगमा पाइला चाल्न सक्छन् । सैम यङ्ग भन्छन्, “अफ्रिकाका धेरै देशहरूका लागि सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जाको माग पूरा गर्न राम्रो अवसर हुनेछ, तर उनीहरूले विद्युत् आपूर्ति व्यवस्थामा लगानी गर्नुपर्नेछ ।”
अफ्रिकाको उदय
यो सुन्दा विरोधाभाषी लाग्न सक्छ, तर यदि अफ्रिकी देशहरूले बढी डाटा सेन्टरहरूलाई आफ्नो तर्फ आकर्षित गर्न सक्छन् भने उनीहरूले आफ्नो जनतालाई पनि बढी विद्युत् आपूर्ति गर्न सक्छन् ।
एनर्जी फॉर ग्रोथ हब नामक थिंक ट्यांकका अनुसन्धान निर्देशक रोज मूतिसो भन्छन् कि हाल अफ्रिका यस क्षेत्रमा निकै पछाडि छ । रोज मूतिसो भन्छन्, “हाल अफ्रिकाको डाटा सेन्टर क्षमता विश्वको कुल क्षमताको केवल एक प्रतिशत मात्र हो। जति डाटा सेन्टर केवल मुम्बईमा छन्, उति पुरै अफ्रिकामा छन् ।” तीमध्ये अधिकांश डाटा सेन्टर दक्षिण अफ्रिकामा छन् । अमेजन, गूगल र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूको डाटा सेन्टर दक्षिण अफ्रिकामा छन् । नाइजेरियामा पनि केही डाटा सेन्टरहरू छन् । डाटा सेन्टरहरूको स्थापनाको सम्बन्ध स्थानीय मानिसहरूको इन्टरनेटको माग र डिजिटल क्रियाकलापसँग पनि हुन्छ ।
के एआई चलाउनका लागि हामीसँग पर्याप्त ऊर्जा छ?
अब हामी हाम्रो मुख्य प्रश्नमा फर्कौं, के एआई चलाउनका लागि हामीसँग पर्याप्त ऊर्जा छ ? हालका लागि त हामीसँग यसको लागि पर्याप्त ऊर्जा छ जस्तो देखिन्छ र भविष्यमा अफ्रिकाबाट हरित ऊर्जा प्राप्त गर्ने ठूलो सम्भावना  छ ।
हामीलाई सबैभन्दा ठूलो चुनौती हुनेछ कि कसरी एआई चलाउन काम गर्ने डाटा सेन्टरहरूलाई दिइने अधिकांश ऊर्जा नवीकरणीय वा हरित स्रोतहरूबाट प्राप्त गर्न सकिन्छ ताकि यसको पर्यावरणमा नराम्रो प्रभाव नपरोस् ।
साथै हामीलाई एआईको प्रयोग आवश्यक कामका लागि मात्र गर्न पनि विचार गर्नुपर्ने हुन सक्छ, किनकि एआईको प्रयोग गरेर कमिक चित्रहरू बनाउने वा कसैको आवाज परिवर्तन गर्नेमा पनि धेरै विद्युत् खर्च हुन्छ ।
आगामी दिनमा एआईको विद्युत् आवश्यकताहरू बढ्न पनि सक्छ । तर जस्तै कि हामीले हाम्रो विशेषज्ञबाट सुनेका छौं, यो सम्भावना पनि छ कि सुपर एआईका मोडेलहरूले हाम्रा धेरै समस्याहरूको साथसाथै ऊर्जा अभावको समस्यालाई पनि समाधान गर्न सक्छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal