Skip to content
Prabhu

धुलिखेल नगरद्वारा सीपमूलक तालिमपछि रोजगार प्रदान

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेको छ । सोमबार मात्र ‘वेटर’ तथा ‘हाउसकिपिङ’ तालिम सिकेका ४८ जनालाई भक्तपुर र काठमाडौंका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको हो ।

रोजगार सेवा केन्द्रद्वारा वेटर÷वेट्रेस तथा हाउसकिपिङसम्बन्धी एक सय ६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात उक्त सङ्ख्यामा रोजगार प्रदान गरिएको जनाइएको छ । भक्तपुरको ग्लोबल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड टुरिजम टेक्निकल सेन्टरको प्राविधिक सहयोगमा धुलिखेलका विभिन्न वडाका ४८ जना व्यक्तिलाई तालिमपश्चात रोजगारीका लागि भक्तपुरको सुमेरु र काठमाडौंको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको नगर रोजगार संयोजक सम्झना नेपालले बताए।

तालिमप्राप्त व्यक्तिले घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध भइसकेको र नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल धुलिखेलको स्थानीय सेवा प्रदायक संस्थाहरूसँग समन्वय गर्ने कार्य भइरहेको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यामशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्य लिएको हो ।

यस्तै नगरले वेटर÷वेट्रेसका लागि २५ वर्ष उमेरभित्रका युवा तथा सबै उमेर समूहका लागि हाउसकिपिङका लागि तालिम प्रदान गर्दै आएको जनाएको छ । नगरले बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराएको थियो ।

यसैबीच नगरले परिषद्द्वारा हालसम्म एक हजार छ सयलाई विभिन्न प्रकारका सीपमूलक तालिम प्रदान गरिएको जनाएको छ । हालसम्म सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिक रूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताए।

‘सीप सिकेर उद्यम गर्छु भन्नेहरूका लागि उद्यमशीलतासहितको सहुलियत र अनुदानमा पुँजी र प्रविधि उपलब्ध गराएका छौँ, बेरोजगारी घटाउन रोजगारी दिलाउन तथा आफैं उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने हाम्रो अभियान निरन्तर जारी छ’, ब्याञ्जूले भने ।

उनका अनुसार उद्यमशीलतासहितको सीपमूलक तालिम र सशक्तीकरणले नगरवासी सचेत र आत्मनिर्भर बन्ने विश्वास लिइएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अपिल गर्दै आएको छ ।

युवा परिषद्मार्फत चालु आर्थिक वर्षमा पनि करिब दुई सय युवालाई बेकरी, मोबाइल मर्मत र ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको छ । परिषद् उपाध्यक्ष सिवी तामाङले विशेषगरी युवा वर्गलाई सशक्तीकरण र सीप सिकेर आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले फरकफरक तालिम आयोजना गरेको बताए । उनका अनुसार आधारभूत तालिमपछि ‘एड्भान्स’ तालिमको पनि तयारी गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal