Skip to content
Prabhu

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा ‘लर्निङ सेन्टर’ स्थापना, एकैपटक ३६५ जनाले प्रशिक्षण लिन सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालयस्थित आफ्नै भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ सेन्टरहरु सञ्चालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरिएको बैंकले जनाएको छ । यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकैपल्ट ३ सय ६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरेका छन् । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ्ग सेन्टरमा कार्यक्रमहरु सञ्चालन गर्न सहजता हुने र संचालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

सो, अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुख लगायत शाखा प्रमुखहरु गरी २ सय ६५ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । आज लर्निङ सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेसमा २०, बागमतीमा ४०, गण्डकीमा ९, लुम्बिनीमा २३ , कर्णालीमा ५ र सुदूरपश्चिममा १० जना गरी १३० कर्मचारीहरुले प्रशिक्षण पनि लिएका छन् ।

बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ सेन्टरको स्थापनाले आगामी दिनमा अझ सशक्त ढंगले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १ सय ९४ वटा शाखा, १ सय ५७ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal