Skip to content
Prabhu

राष्ट्र बैंकको नीतिका कारण चाँदीको आयात घट्दै, तस्करी बढ्दै

काठमाडौं । राष्ट्र बैंकको नीतिका कारण वैधानिक रुपमा चाँदीको आयात घटिरहेको छ । केन्द्रीय बैंकले एक पटकमा ६० हजार डलर बराबरको चाँदी मात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा चाँदीको आयत निरन्त रुपमा घटी रहेको हो । जसका कारण अवैध रुपमा चाँदीको आयत पनि बढ्न गएको छ ।

आइतबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ किलो चाँदीसहित भारतीय नागरिकलाई पक्राउ गर्यो । असार १८ गते पनि प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउन लागिएको डेढ किलो चाँदीसहित रौतहटबाट एक अटो चालकलाई पक्राउ गरेको थियो । पछिल्ला समय प्रहरी चाँदीका गरगहना तथा कच्चा चाँदीसहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ ।

चाँदीको मूल्य भारतमा भन्दा नेपालमा महँगो भएका कारण अहिले भारतबाट अवैध रुपमा चाँदी नेपाल भित्रिरहेको छ । राष्ट्र बैंकको चाँदीको आयातमा कडाइ गरेका कारणले भारतबाट अवैध रुपमा चाँदी भित्रिरहेको व्यवसायीहरुको भनाइ छ । नेपालमा व्यवसायीहरुले एक पटकमा ४० किलोभन्दा बढी चाँदी आयात गर्न नसक्ने अवस्था छ । जबकी नेपाली बजारमा चाँदीको माग दैनिक ३०० किलोग्राम छ ।

सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा नेपालमा चाँदीको आयातमा शतप्रतिशत गिरवाट आएको छ । सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा ८३.०८ प्रतिशतले चाँदीको आयात घटेको देखिन्छ । अघिल्लो आव २०७८÷७९ को तथ्यांकअनुसार नेपालमा १ लाख ६७ हजार २११.३६ केजी चाँदी आयात भएको थियो । गत आर्थिक वर्षमा भने सेतो धातुको आयत घटेर २८ हजार ३७५.७२ केजीमा सीमित भएको छ ।

राष्ट्र बैंकले गरगहना प्रयोजनाका लागि सिमा तोकेको भए पनि निर्यात गर्ने व्यवसायीको हकमा यो सीमा नलाग्ने व्यवस्था गरेको छ । तर, पनि वैधानी रुपमा आयात हुने चाँदीको परिणाम निरन्तर रुपमा घटिरहेको छ । राष्ट्र बैंकको नीतिका कारण अहिले बजारमा चाँदीको अभाव भएको र खपतको परिणाम पनि जानकारी हनु नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए । ‘अहिले वैध रुपमा आउने चाँदीको आयात निकै कम देखिन्छ । जसले गर्दा गैरकानुनी रुपमा आउने चाँदीले गर्दा वैधानिक रुपमा व्यापार गर्नेहरुलाई समस्या भइरहेको छ,’ उनले भने ।

दैनिक रुपमा नेपालमा ३०० केजीको चाँदी आवश्यक पर्ने अध्यक्ष रसाइलीको भनाइ छ । महासंघले राष्ट्र बैंकलाई पनि दैनिक ३०० केजी चाँदी भए व्यवसायीका लागि प्रयाप्त हुने सुझाब दिएको उनको भनाइ छ ।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालमा ८ हजार ६२१ केजी मात्रै चाँदी आयात भएको देखिएको छ । तर, व्यवसायीहरु भने दैनिक ३ सय केजी चाँदीको माग रहेको बताउँछन् । यसही हेर्दा नेपालमा महिनामा नै ९ हजार किलो चाँदीको आवश्यक पर्छ । तर, आयातको तथ्यांक भने ११ महिनामा ८ हजार छ । यसबाट प्रस्ट हुन्छ कि नेपाली बजारमा चाँदीको अवैध व्यापार भइरहेको छ । जसलाई प्रहरीको पछिल्लो तथ्यांकले पनि पुष्टि गरिरहेको छ ।

नेपालमा आर्थिक वर्ष २०७१÷०७२ मा ५ लाख ७१ हजार १८९ केजी चाँदी आयात भएको थियो । त्यस्तै २०७२÷०७३ चाँदीको आयात १ लाख ४० हजार ३१६ केजी मात्रै भयो । त्यो एक वर्षको अवधिमा नै चाँदीको आयातमा ७५.४३ प्रतिशतले गिरावट आयो ।

आव २०७३÷७४ मा १ लाख ४० हजार ६९१.२० केजी चाँदीको आयात भएको थियो । २०७४÷७५ मा ५४.१९ प्रतिशतले आयात वृद्धि भएर २ लाख १६ हजार ९३५.०५ केजी चाँदी आयत भएको थियो ।

त्यस्तै आव २०७५/०७६ पनि ३२ प्रतिशतले बढेर चाँदीको आयात २ लाख ८८ हजार ४५५.८५ केजी चाँदी आयात भएको थियो । आव २०७६/७७ चाँदीको आयातमा पुनः गिरावट आयो । सो आर्थिक वर्षमा नेपालमा चाँदीको आयात ५०.०१ प्रतिशतले घटेर १ लाख ४४ हजार २०३.५० केजी आयात भएको सरकारी तथ्यांक छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा चाँदीको आयात १ लाख ७ हजार २११.१० केजी आयात भयो । आर्थिक वर्ष २०७८/७९ मा फेरि चाँदीको आयात ५६.४३ प्रतिशतले बढेर १ लाख ६७ हजार ७११.३६ केजी पुगेको तथ्यांकले देखाएको छ । तर पछिल्लो समय चाँदीको अवैध आयत निकै बढीरहेको व्यवसायीहरुको भनाइ छ । अवैध कारोबार राक्नका लागि सरकारले समयमा नै कदम चाल्नु पर्ने उनीहरुको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal