Skip to content
Prabhu

स्वार्थ समूहको कब्जाले बुक बिल्डिङ प्रणाली सुुरुवातमा असफलतातर्फ, सर्वोत्तमबाट बिग्रेको नीति रिलायन्समा ध्वस्त

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन  गरेको सर्वोत्तम सिमेन्ट सुरुवातमा नै विवादमा तानियो ।

बुक बिल्डिङबाट सेयर निष्कासन गर्न लागेको कम्पनीले वित्तीय स्वार्थ देखिने गरेर तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र तत्कालीन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका परिवारका सदस्यले सेयर किनेपछि विवाद भयो ।

सर्वोत्तमका प्रमुख प्रबर्द्धक विष्णु न्यौपानेलाई आफूलाई फाइदा हुने गरेर नियामक निकायका प्रमुखलाई सेयर दिएको आरोप लाग्यो । जसले गर्दा ढुंगाना र साउद पदबाट हट्नु परेपछि न्यौपाने भने बुक बिल्डिङबाट आइपीओ ल्याउन सफल भए ।

७५० कित्ताको दरले आइपीओ ल्याउने तयारी गरेका सर्वोत्तमका न्यौपानको इच्छा पूरा भएन । उनले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले सर्वसाधारणलाई सेयर निष्कासन गरेका थिए । वैज्ञानिक मानिएको बुक बिल्डिङ प्रणालीलाई सुुरुवातमा विवादमा लैजाने काम न्यौपानेले गरे ।

बुक बिल्डिङमा सेयर पाएका लगानीकर्तालाई अहिलेसम्म सर्वोत्तममा घाटा भने छैन । तर, सुरुवातमा मै नियामक निकायदेखि बजारमा प्रभाव पार्नेलाई सेयर दिएर न्यौपानेले बुक बिल्डिङ प्रणालीलाई व्यवस्थित भन्दा पनि विवादित बनाउने काम उद्योगी न्यौपानेले गरे । न्यौपानेका लगानी भएका अन्य उद्योग पनि यस्तै तरिकाले आइपीओ निष्कासनको तयारीमा छन् । यसको लागि उनले केही कम्पनीको सेयर बजारलाई प्रभाव पार्न सक्ने प्रभावशाली निकायलाई बिक्रीसमेत गरिसकेका छन् ।

सर्वोत्तमको आइपीओ निष्कासनपछि धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भयो । कर्पोरेट घरानाको दबाब र राजनीतिक स्वार्थले सरकारले बोर्ड अध्यक्ष अहिलेसम्म नियुक्त गर्न सकेन । कानुनअनुसार अर्थमन्त्रालयबाट प्रतिनिधि भएर गएका नरेन्द्र रानाले यही विवादित भनिएको रिलायन्स स्पिनिङ मिलको आइपीओको स्वीकृति दिने निर्णय गरे ।

रिलायन्सले योग्य संस्थागत लगानीकर्तालाई लगानी गर्ने बेलामा निकालेको वित्तीय विवरण अहिलेको वित्तीय विवरणमा आकाश जमिनको फरक छ । रिलायन्स पुसमा सार्वजनिक भएको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा हुने दाबी थियो । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा २ रुपैयाँ ८ पैसा छ ।

योग्य संस्थागत लगानीकर्ताले बोलकबोल गरेको मूल्यका आधारमा सेयर किने । संस्थागत लगानीकर्ताले अधिकतम मूल्य ९ सय १२ रुपैयाँ सम्म आवेदन गरेको हुँदा यसको ‘कटअफ प्राइस’ त्यती बरारबर भयो ।

रिलायन्समा १८ वटा संस्थाले उच्च मूल्य हाले । नहालेका कतिपय योग्य लगानीकर्तालाई कम्पनीका अध्यक्ष पवन गोल्याणले विश्वास नगरेको भन्दै गुनासो गरेका थिए । ‘पवनजीले कम मूल्य किन कोट गरेको भन्दै हाम्रा कम्पनीहरुसँग रिसाउनुभयो,’ एक योग्य संस्थागत लगानीकर्ताका प्रमुखले लगानीन्युजसँग भने ।

सेयर बजारका जानकारका अनुसार हिजोको दिनमा सर्वोत्तम तथा अहिले रिलायन्समा
योग्य संस्थागत लगानीकर्ताले मिलोमतोमा नै मूल्य तोकेका थिए । धेरै संख्यामा योग्य संस्थागत लगानीकर्ता नभएको हुँदा बुक बिल्डिङमा कार्टेलिङ हुने गरेको छ ।

बुक बिल्डिङ मनपरी प्रोजेक्सन गर्ने र सर्वसाधारणलाई सेयर भिडाउने काम भएको बुझाई लगानीकर्ताको छ । चुक्ता पुँजीको १० देखि १२ प्रतिशतसम्म बुक बिल्डिङमार्फत आइपीओ जारी गर्ने र कम सप्लाईको आधारमा मूल्य बढाउने र यसले सेयर बजारलाई भोलिको दिनमा थप जोखिम पार्ने देखिएको छ ।

उत्पादनमुलक क्षेत्रका कम्पनीहरुको विगतमा विगतमा पनि राम्रो छैन । नेप्सेमा सेयर मूल्य उत्पादन मुलक क्षेत्रकै युनिलिभिरको भए पनि ठगेर भाग्नेमा बढी उत्पादन मुलक क्षेत्रका कम्पनी छन् । नेपालमा बैंक तथा वित्तीय संस्था,बीमा कम्पनी, सेयर ब्रोकरदेखि पछिल्लो समय आएका पीईभीसीको अधिपत्य सीमिति घरानाको नियन्त्रणमा छ । योग्य संस्थागत लगानीकर्तामा धेरैजसो बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी र म्युचुअल फण्ड हुन् ।

जसमा सोझो नियन्त्रण सीमित व्यवसायीको छ ।जसले गर्दा वैज्ञानिक भनिने बुक बिल्डिङमा मूल्य मिलोमतोमा हुने र प्रणालीलाई असफल बनाउे खतरा बढेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal