Skip to content
Prabhu

ग्लोबल आइएमई, आइएमई र जाल्सानबीच त्रिपक्षीय सहमति, जापान पढ्न जाने विद्यार्थीलाई सहज कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंक, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार, जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीहरुलाई जापानका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सो बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीहरुलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्ने छ ।

यसैगरी, आईएमई लिमिटेडले उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुको कलेज शुल्क, भिसा शुल्कलगायतका भुक्तानीका लागि विद्यार्थीहरुलाई बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्ने र जापान गएपश्चात् विद्यार्थीहरुले जापानबाट आफ्नो देशमा आईएमईबाटै सरलताकासाथ पैसा पठाउन सक्ने जनाएको छ ।

ग्लोबल आईएमई बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटिएम, २ सय ७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा ढिी सेवा केन्द्र छन् ।
ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४८ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal