काठमाडौं । विष्णु पौडेल आएपछि सेयर बजार लगातार बढ्छ भन्ने विश्वास उनले शपथ लिनेदिन नै तोडियो ।
केही दिन पौडेलको हल्लामा बढेको सेयर बजार उनी अर्थमन्त्रीमा सुनिश्चित हुनेदिन नै बढ्न सकेन । यसले विष्णु पौडेलले अर्थतन्त्रमा देखिएका सबै कुरालाई समाधान गर्छन् भन्ने भाष्यलाई सुरुवातमा नै अस्वीकार गरेको छ ।
२०७२ सालमा केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेलको अर्थ मन्त्रालयको यात्रा योपटक पाँचौं हो । अहिलेसम्म अर्थमन्त्रीको रूपमा दुइटा बजेट ल्याएका पौडेललाई त्यसलाई कार्यान्वयन गर्नुपर्ने अवस्था आएन । जसले गर्दा पौडेलको अर्थमन्त्रीका रूपमा बजेटमा लोकप्रिय कार्यक्रम ल्याउने भनेर मात्र चिनिएको छ ।
पढाइको हिसाबले हेर्दा अर्थमन्त्रीका रूपमा मन्त्रालय चलाउने जिम्मा नलिनुपर्ने भए पनि पौडेलको खुबी भनेको सबैलाई मिलाएर लानु हो । जसले गर्दा योपटक पार्टीभित्र स्वयं ओलीले पनि अर्थमन्त्रीको जिम्मेवारी नदिने हल्ला र अनुमानको बीच पौडेले उपप्रधानसहित अर्थमन्त्रीको रूपमा सिंहदरबारको यात्रा तय गर्न सफल भए ।
स्याङ्जामा जन्मिएर २०५१ सालदेखि पाल्पाबाट संसदीय यात्रा सुरु गरेका पौडेलले २०५६ सालबाहेक लडेका संसदीय निर्वाचनहरू जितेका छन् । पार्टीभित्रको बलियो पकड राख्ने पौडेललाई एमालेभित्र भावी नेतृत्वका रूपमा पनि हेरिने गरिन्छ ।
अर्थमन्त्रीको रूपमा हेर्दा अहिले सरकार एक प्रकारले टाट पल्टेको अवस्था छ । सरकारले बजेटमा लिएका लक्ष्यहरू पूरा भएका छैनन् । न भने अनुसारको राजस्व संकलन भएको छ न सरकारले विकास खर्च गर्न सकेको छ । सरकारले निर्माण व्यवसायीको भुक्तानी नगरेको कारण निर्माण व्यवसायी समस्या छन् । जसको असर बैंकको वित्तीय विवरणमा समेत देखिएको छ ।
यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चर्चित व्यवसायीलाई थुन्ने निर्णयले व्यवसायीको मनोबल गिरेको थियो । युवापुस्ताको पलायनले नेपालको आन्तरिक बजारमा खपत घट्दो क्रममा छ । व्यवसाय र प्रतिष्ठित पेसामा सक्रिय युवाहरू देश बन्दैन भन्ने आधारमा पलायन हुने बढ्दो क्रममा छ । अर्थमन्त्री एक्लैले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने भन्ने हुँदैन । संरचनात्मक समस्यामा रहेको नेपाली अर्थतन्त्रको सुधार लामो र दीर्घकालीन प्रक्रियाबाट मात्र
सुधार हुन्छ ।
अर्थमन्त्रीका रूपमा निजी क्षेत्रले विश्वास गर्ने नेताका रूपमा नै विष्णु पौडेल चिनिन्छन् । खासगरी व्यवसायीको कुरा सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने मामलामा पौडेल उदार छन् । व्यवसायीहरूले अत्याधिक चलाउन सजिलो हुने अर्थमन्त्रीका रूपमा चिने पनि पौडेलको स्वभाव मिलनसार र अरूको कुरा सुन्ने हो ।
नेपालको अर्थनीतिमा पछिल्लो वर्षमा वित्त नीतिको भन्दा मौद्रिक नीतिको चासो उद्यमी र व्यवसायीलाई हुने गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले ७ खर्ब जति ऋण दिन सक्ने क्षमता छ । देशभित्रको घट्दो उपभोगले आयात कम भएको छ भने विदेशमा गएका नेपालीले पठाएको पैसाले विदेशी सञ्चिति सजिलो ठाउँमा छ । अर्थमन्त्रीको हिसाबले हेर्दा बाह्य क्षेत्रमा अहिले स्थायित्व देखिए पनि भत्ताभुंग भएको आन्तरिक अर्थतन्त्रलाई उनले चलायमान बनाउन भने चुनौती छ ।
व्यवसायीको अपेक्षा एमाले सरकारले नियुक्त गरेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति अब झन् सजिलो बनाउने गरेर ल्याउँछन् भन्ने हो । वित्त नीतिले नै अर्थतन्त्रको लिड गर्नुपर्ने भए पनि मौद्रिक नीतिको मात्र भर पर्दा अर्थतन्त्र बिस्तारमा गति बढेको छैन ।
भविष्यमा पार्टी हुँदै देशको नेतृत्व गर्ने सपना देखेका अर्थमन्त्री पौडेलले यो पटकको कार्यकालमा निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्रमा सुधार गर्नुपर्ने छ । अर्थ मन्त्रालय मातहतका निकायमा कर्पोरेट घरानासँगै राजनीतिक दलका नेताहरूको दबाबले नियामक निकाय पंगु बनेका छन् । लामो समयसम्म धितोपत्र बोर्डको नियुक्ति प्रक्रिया रोकिएको छ ।
सरल र मिठो बोल्ने अर्थमन्त्री पौडेलका विगतका कार्यकालको सफलता भनेको सेयर बजार हो । तर, लोकप्रिय कार्यक्रम ल्याएर चालु खर्च बढाउन बोझ थपेका पौडेलले मिठो शैलीमा अर्थतन्त्र सुधार गर्छन् कि कार्यकाल मात्र थपेर बाहिरन्छन् त्यो भविष्यमा निर्भर हुने छ ।
प्रतिक्रिया दिनुहोस्