Skip to content

पौवादुङ्माको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन

nabil bank

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो ।

गाउँपालिकाले यहाँको भूगोलअनुसार खेती विस्तारमा ध्यान दिएसँगै किसानले उत्पादन गरेका कृषि उजपलाई बाह्य बजारसम्म लैजाने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । एम्बुलेन्स खरिद गर्न २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।

‘किसानलाई लक्षित गरेर कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेका छौँ’, उनले भने, ‘कृषि एम्बुलेन्समार्फत यहाँका कृषि उपजलाई बजारीकरणसँगै ढुवानीका लागि प्रयोगमा ल्याउने लक्ष्य छ ।’ कृषि एम्बुलेन्स सञ्चालनपश्चात करिब चारदेखि पाँच घण्टामा पौवादुङ्माको कृषि उत्पादन धरान, इटहरी, विराटनगरलगायत ठूला सहरमा पुग्ने उनले बताए । यहाँ धेरै उत्पादनयोग्य क्षेत्र रहेकाले भूगोलअनुसारको खेती विस्तारमा जोड दिइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ श्यामशिलामा किबी पकेट क्षेत्र, तिवारीभञ्याङ, बास्तिमलगायत क्षेत्रमा व्यावसायिक अकबरे खुर्सानीसँगै तरकारीखेतीका लागि आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईले बताए।

किसानलाई कृषिमा जोडेर आत्मानिर्भर बनाउने योजनाका साथ काम गरिरहेका छौं । किसानले उत्पादन गरेको वस्तुलाई सहजत रूपमा बाह्य बजार पुर्याउने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्न लागेको अध्यक्ष राईले बताए ।

‘हामीले विगतका वर्षहरूबाट नै कृषिको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘अहिले अकबरे खुर्सानी तथा किवीले राम्रो उत्पादन दिन थालेको अवस्था छ । यसबाट किसानले राम्रो आम्दानी लिँदै आएका छन् । उत्पादित वस्तुको सहज बजारीकरणका लागि हामी जुटेका छौँ ।’

गाउँपालिकालाई कृषि उत्पादनसँगै दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम भइरहेको अध्यक्ष राई बताए । किसानलाई लक्ष्यित गरेर आगामी आर्थिक वर्षमा करिब दुई सयवटा गाईका बाच्छी वितरण गर्ने कार्यक्रम अघि सारेको अध्यक्ष राईले बताए। किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सक्ने सम्भवनालाई ख्यालमा राखेर यो कार्यक्रम सञ्चालनको तयारी थालिएको उनले बताए ।

गाउँपालिकामा महिला विकास बोर्ड गठन गरेर महिलालाई उद्यमशीलतामा जोड्नका लागि कृषिको क्षेत्रमा काम गरिरहेको उपाध्यक्ष ज्योत्सना राईले बताए । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रमअन्तर्गत छवटै वडामा कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime