Skip to content
Prabhu

नवीकरणीय ऊर्जाका स्रोतको प्रबर्द्धन गर्न सरकार प्रतिबद्ध छः अर्थमन्त्री पौडेल

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।
कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए। नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग पनि भेट
परिसङ्घको टोलीले आजै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरेको थियो। आज मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए । यस क्षेत्रको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिकाबारे लिखित रूपमै सुझाव उपलब्ध गराउन उनले निजी क्षेत्रलाई आग्रह गरे।
परिसङ्घअन्तर्गतको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका महासचिव दीपक गौतमले देश विकासका लागि नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाल नवीकरण ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरे ।
परिसङ्घमा हाल नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ, नेपाल लघुजलशक्ति विकास संस्था, नेपाल बायोग्यास प्रबर्द्धन सङ्घ, जल तथा ऊर्जा परामर्शदाता सङ्घ नेपाललगायत संस्थाका पदाधिकारीले उहाँहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गरेका  थिए।
आजै परिसङ्घले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालसँग पनि भेटगरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रका प्राथमिकताबारे ध्यानाकर्षित गराएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal