Skip to content
Prabhu

घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्क विच्छेद

कास्की । यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ स्थित घान्द्रुक र मादी गाउँपालिका–१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो । सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।

पोखरा–घान्द्रुक सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–१० को क्लियूमा गत असार २० गते रातिको पहिराले सडक बगाउँदा पोखरादेखि घान्द्रुकसम्मको यातायात सम्पर्क टुटेको थियो । घान्द्रुकका पर्यटन व्यवसायी किशम गुरुङले सडक अवरुद्ध हुँदा पर्यटक आवतजावत रोकिएको बताए ।

‘पहिला वर्खायाममा पनि पर्यटक आउनुहुन्थ्यो तर अहिले बाटोका कारण सुनसान छ । बाटोको अवस्था बुझेपछि आउन चाहने पर्यटकले यात्रा रद्द गर्नुभएको छ । पर्यटकलाई मात्र होइन, गाउँलेलाई पनि आवतजावतमा समस्या भएको छ’, गुरुङले भने ।

घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर पदयात्राको प्रवेशद्वार हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक अन्नपूर्ण आधार शिविर जाने गर्दछन् । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार पहिरोले ५० मिटर तलदेखि सडक बगाएको छ । सडक मर्मतका लागि विस्तृत प्राविधिक अध्ययन आवश्यक रहेको उनले बताए ।

‘सडक धेरै तलदेखि खसेको छ, माथि नयाँ ट्रयाक खोल्ने ठाउँ छैन । सडक खुलाउन अप्ठ्यारो भएको छ’, प्रवक्ता गुरुङले भने । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहित पालिकाको प्राविधिक टोली र प्रदेशको पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत ख्डकाको टोलीले पहिरो गएको स्थानको निरीक्षण गरेका छन् । वर्षा निरन्तर भइरहेको र पालिकाको स्रोतले बाटो खुलाउन सक्ने अवस्था नरहेको उनले जानकारी दिए ।

सिक्लेसलाई पोखरासँग जोड्ने प्रमुख सडक काहुँखोला(सिक्लेस(दुधपोखरी सडकका विभिन्न स्थानमा केही दिनयता पहिरो खसेकाले सडक अवरुद्ध छ । सो सडकखण्डको मादी(७ हात्तीगौँडा, मादी–६ केराबारी, मादी–१ चिप्ली र खिलाङको बीच तथा पधुखोला नजिक पहिरो खसेको छ ।

मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित भएको बताए । वडा कार्यालय तथा स्थानीयवासी मिलेर सडकको पहिरो पन्छाउने गरे पनि केही दिनमै पुनःपहिरो खस्दा यातायात सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । गुरुङले भने, ‘पोखरादेखि सिक्लेससम्म आइपुग्दा चार वटा सवारी परिर्वतन गर्नुपर्ने बाध्यता छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal