काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ । बिहीबार मन्त्री पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो ।
परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँँदै सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए ।
उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको बताए । विगत तीन वर्षदेखि उद्योगहरु ३०÷४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताए ।
उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको भन्नुहुँदै चालुपुँजी कर्जा मार्गदर्शन र पुँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा जोड दिए ।
परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।
सो अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको भन्दै राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरे । ‘प्रधानमन्त्री चौथो पटक पूर्वप्रधानमन्त्रीको फोटो टाँस्न आएको होइन ।
समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो’ उनले भने, ‘अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।’ उनले नीतिको स्थीरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए । उनले समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने समेत बताए ।
सो अवसरमा परिसंघका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्यहरु शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, राष्ट्रिय परिषद् सदस्य विदुषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायतले मन्त्री पौडेलको सफल कार्यकालका लागि शुभकामना दिए ।
प्रतिक्रिया दिनुहोस्