Skip to content
Prabhu

भोलि नेपालकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुने

कठमाडौं । गते देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आयोजना भोलि शनिबार हुँदै छ । शनिबार करिब ४ हजार साइकल यात्रीले नेपालको १५ भन्दा बढी स्थानमा २ लाख किलोमिटरभन्दा बढी दुरी तय गर्ने छन् । हरेक वर्ष जस्तै यो वर्ष पनि साइकल यात्रीहरुले सामाजिक कामका लागि रकम पनि संकलन गर्ने छ ।

यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकल पम्प ट्रयाक जस्तै नेपालगन्जमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ । सन् २०११ मा ३५ जनाबाट सुुरु भएको काठमाडौं कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुुरु भई काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ ।

साइकल यात्रीहरुले यस क्रममा आफ्नो इच्छाअनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सहआयोजकका रूपमा सहभागी भएको छ ।

ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जनले भने, ‘ललितपुर स्मार्ट सिटी बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसंगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ ।’

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिकालगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकाले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ, जसको कारण गएको वर्ष काठमाडौँ कोरामा महिला यात्रीहरुको संख्या ३४ प्रतिशत पुगेको थियो । यसै सम्बन्धमा ललितपुरका विभिन्न भागमा महिलाहरुलाई साइकल चढ्ने, साइकलको मर्मत सम्भार गर्ने र प्राथमिक उपचारको तालिम दिने काम पनि भैरहेको छ र यसमा स्थानीय महिला समूहहरु र यूएसएआएडी स्वच्छ हावा आयोजनाको समेत सहभागिता रहेको छ ।

कोरा आयोजनाको मूल उदेश्य देशभरि नै साइक्लिस्ट समुदायहरु विकास गरी साइकल संस्कृतिको प्रवर्धन गर्नु हो । यसमा सोसल टुर्स, साइकल सिटी नेटवर्क नेपाल, पाङ्ग्रो, ललितपुर महानगरपालिका, यूएसएआएडी स्वच्छ हावा, अष्ट्रेलियन राजदुतावास, नबिल बैंक, टर्किस एअरलाइन्स, हिमालयन एभेरेस्ट इन्स्युरेन्स लगायत विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् ।
थप जानकारीका लागिः www.mykorachallenge.com र सामाजिक सञ्जालमा @korachallenge फलो गर्नु होला ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal