Skip to content
Prabhu

विश्वका अधिकांश सेवा अवरुद्ध हुनुको दोषी मानिएको क्राउडस्ट्राइक के हो ?

बीबीसी । विश्वभरका आईटी सेवा अवरुद्ध हुनुको कारक मानिएको साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले सबै कम्प्युटर प्रणाली पूर्ण रूपमा दुरुस्त हुन केही समय लाग्ने स्वीकार गरेका छन् ।
विशेषज्ञहरू ठूला संस्थाहरूलाई सामान्य कामकाजको अवस्थामासम्म फर्कन केही दिन लाग्न  सक्ने बताएका छन् । यद्यपि यस प्राविधिक समस्याको समाधान भेट्टाइसकिएको छ तर विशेषज्ञहरूको विचारमा यसमा धेरै काम म्यानुअल रूपमा गर्नुपर्नेछ ।
यसैबीच माइक्रोसफ्टका अध्यक्ष र सीईओ सत्य नाडेलाले एक्समा एक बयान दिएका छन् । सत्य नाडेलाले लेखेका छन्, “हिजो क्राउडस्ट्राइकले एक अपडेट जारी गरेको थियो जसले विश्वव्यापी आईटी प्रणालीलाई प्रभाव पार्न थालेको छ । हामी यस समस्याको बारेमा जानकार छौं । हामी क्राउडस्ट्राइक र उद्योगसँग मिलेर ग्राहकहरूको प्रणालीलाई सुरक्षित रूपमा अनलाइन ल्याउन प्राविधिक मार्गदर्शन र सहायता प्रदान गर्दैछौं ।”
वैश्विक स्तरमा आएको यस प्राविधिक समस्याको कारण ३३०० भन्दा बढी हवाई उडान सेवाहरू रद्द भएका छन् भने बैंकिङ, स्वास्थ्य सेवा र सुपर मार्केटहरूको कामकाज प्रभावित भएको छ ।
यो प्राविधिक समस्या साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकको एक अपडेटको कारण माइक्रोसफ्ट प्रणालीमा चल्ने कम्प्युटरमा ब्लु स्क्रिन देखिएको र ती क्रयास भएपछि समस्या देखिएको थियो ।
कम्पनीको शेयरहरूमा भारी गिरावट
क्राउडस्ट्राइकका ग्राहकहरूलाई यो सफ्टवेयर अपडेट रातको समयमा स्वचालित रूपमा गइसकेको थियो । त्यसैले शुक्रबार बिहान जब मानिसहरू काममा फर्के, तिनीहरूलाई यस समस्यासँग सामना गर्नुप¥यो । यसको मतलब उनीहरूको कम्प्युटर रिस्टार्ट हुन सक्दैन थियो । क्राउडस्ट्राइकका सीईओ जर्ज कर्ट्जले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा समस्याको पहिचान गरिएको छ र त्यसलाई सुधार्ने व्यवस्था गरिएको बताएका छन् ।
एनबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले भने, “ग्राहकहरूलाई भएको असुविधाका लागि हामीलाई दुःख छ । धेरै ग्राहकहरूले प्रणाली पुनः सुरू गर्दैछन् र यो काम गर्नेछ । केही प्रणालीहरूलाई ठीक हुन केही समय लाग्नेछ ।”
माइक्रोसफ्ट सर्भरमा साइबर सुरक्षा हेर्दै आएको कम्पनी क्राउडस्ट्राइकको शेयर न्यूयोर्कको नास्ड्याक स्टक एक्सचेन्जमा १५ प्रतिशत तलबाट सुरु भयो । शेयरहरूको मूल्यमा आएको गिरावटले साइबर सुरक्षा कम्पनीलाई १२.५ अर्ब डलरको घाटा भयो ।
माइक्रोसफ्टको सर्भरमा आएको गडबडीका कारण विश्वभरमा अवरुद्ध भएका आईटी सेवाहरूको लागि क्राउडस्ट्राइकका सीईओ जर्ज कर्ट्जले माफी मागेका छन् । उनले माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा एक सफ्टवेयर अपडेटमा भएको एक बगलाई यस समस्याको कारण बताएको छ ।
विश्वभरको आईटी सेवा अवरुद्ध
विश्वभरका ठूला बैंक, मिडिया आउटलेट्स र एयरलाइन्स कम्पनीहरूले ठुलो मात्रामा आईटी सेवाहरू अवरुद्ध भएको गुनासो गरेका छन् जसको असर उनीहरूको सेवामा परेको छ ।
आईटी सेवामा आएको यस रुकावटको कारणलाई लिएर तस्वीर अझै स्पष्ट भइसकेको छैन तर यसबाट प्रभावित भएका धेरै प्रतिष्ठानहरूले यसको लागि माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टममा आएको गडबडीलाई जिम्मेवार बताएको छ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माइक्रोसफ्ट ३६५को आधिकारिक ह्यान्डलबाट जारी गरिएको सेवा अपडेटमा भनिएको छ, “हामी माइक्रोसफ्ट ३६५का विभिन्न एप्स र सेवाहरूको प्रयोगमा प्रयोगकर्ताहरूलाई भएको समस्याको जाँच गर्दैछौं ।”
यद्यपि माइक्रोसफ्टका एक प्रवक्ताले बीबीसीलाई शुक्रबार भनेअनुसार केही घण्टा अगाडि अवरुद्ध भएका अधिकांश आईटी सेवाहरू पुनर्स्थापित गरिएका छन् ।
अष्ट्रेलिया यो आईटी संकटबाट विशेष रूपमा प्रभावित भएको छ । देशको गृह मन्त्रालयका एक प्रवक्ताले भने कि यो आईटी संकट एक साइबर सुरक्षा फर्मसँग जोडिएको छ । जबकि अष्ट्रेलियाको साइबर सुरक्षा निगरानी गर्ने सरकारी एजेन्सीले भने कि कुनै साइबर हमलाको कुनै आशंका छैन ।
क्राउडस्ट्राइक के हो?
हामीलाई अहिलेसम्म थाहा छैन कि विश्वभरमा आईटी आउटेजको कारण के हो । तर अमेरिकन एयरलाइन्सले यसको लागि क्राउडस्ट्राइक नामको साइबर सुरक्षा कम्पनीलाई जिम्मेवार ठहराएको छ । अब स्विट्जरल्यान्डको साइबर सुरक्षा एजेन्सीले पनि यही फर्मलाई औंल्याएको छ ।
क्राउडस्ट्राइक एक साइबर सुरक्षा कम्पनी हो । जसको स्थापना २०११ मा भएको थियो । क्राउडस्ट्राइक विश्वभरका ठूला कम्पनीहरू र हार्डवेयरलाई साइबर आक्रमणबाट जोगाउने काम गर्छ ।
यो कम्पनी एन्डप्वाइंट सुरक्षामा माहिर छ र कर्पोरेट नेटवर्कमा जडान हुने उपकरणहरू, जस्तै फोन र ल्यापटपलाई भाइरस वा मालवेयरबाट जोगाउने काम गर्छ ।
यो ती कम्पनीहरूलाई पनि सुरक्षा प्रदान गर्छ जुन क्लाउड नेटवर्कमा काम गर्छन्। यो ती कम्पनीहरूको डेटा सुरक्षामा राख्छ जसले यसलाई आफ्नै छत मुनि, वा आफ्नै सर्भरमा सुरक्षित राख्नको सट्टा तथाकथित क्लाउड प्रदायकहरूमा स्थानान्तरण गरेका छन् ।
अमेरिकाको टेक्सासस्थित फर्मको स्थापना उद्यमीहरू जर्ज कर्ट्ज र दिमित्री अल्पेरोविचले गरेका थिए । कम्पनी सन् २०१९ देखि टेक हेवी नास्ड्याक स्टक एक्सचेन्जमा सूचीबद्ध भएको थियो । लन्च भएकोदेखि नै कम्पनीले साइबर आक्रमणहरूको जाँचमा मद्दत गर्ने महत्त्वपूर्ण भूमिका निभाएको छ । सन् २०१६ मा यस कम्पनीलाई यूएस डेमोक्रेटिक नेशनल कमेटीले आफ्नो कम्प्युटर नेटवर्कमा सेंधको जाँचको लागि बोलाएको थियो ।
साइबर स्ट्राइकका सह–संस्थापक जर्ज कर्ट्जले एक्समा जारी एक बयानमा भनेका छन्, “क्राउडस्ट्राइक विन्डोज होस्टमा पाइएका दोषबाट प्रभावित ग्राहकहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ । यसको कारण म्याक र लिनक्स होस्ट प्रभावित भएका छैनन् । यो कुनै साइबर हमला होइन । समस्याको पहिचान गरिएको छ र समाधान भेट्टाइएको छ ।”
विश्वभरमा आपतकालीन सेवाहरू प्रभावित
अष्ट्रेलियाको साइबर सुरक्षा निगरानी गर्ने एजेन्सीको तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, “हामीसँग हाल यो सूचना छ कि तेस्रो पक्ष सफ्टवेयर प्लेटफर्ममा आएको प्राविधिक समस्याले त्यसको प्रयोग गर्ने कम्पनीहरू प्रभावित भएका छन् ।” उता, अलास्काका अधिकारीहरूले भनेका छन् कि ९११ र गैर आपतकालीन सेवाहरू सम्बन्धी कल सेन्टरहरू ठीकसँग काम गरिरहेका छैनन्।
विश्वभरका धेरै एयरलाइन्स कम्पनीहरूले आफ्नो विमान सेवाहरू रोक्नुपरेको छ र धेरै उडानहरू ढिलो चलेका छन् । अमेरिकी राज्य अलास्काले चेतावनी दिएको छ कि आईटी सेवाहरूमा आएको रुकावटको असर त्यसको आपतकालीन सेवाहरूमा परेको छ ।
अष्ट्रेलियाका सुपरमार्केटहरू ठप्प छन् र धेरै देशका मिडिया आउटलेट्सलाई प्रणाली फेल भएकाले मानिसहरूमा जानकारी पुर्याउन संघर्ष गर्नुपरिरहेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal