Skip to content
Prabhu

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी ३२० उजुरी

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१ मा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० वटा उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा दर्ता भएका मध्ये २ सय ७८ उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको तथा त्यसमध्ये ४० वटा उजुरी फछ्र्यौट भएको जानकारी दिए । बाँकी उजुरीमा आवश्यक कारबाही तथा फर्छ्यौट प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

यसैगरी गत आवमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार एक सय ४५ वटा निवेदन दर्ता भएकामा छ सय दुईवटा मुद्दा फर्छ्यौट भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । यसक्रममा २५ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको र रु २४ करोड ५९ लाखभन्दा बढी रकम रकम असुल गराइएको थियो ।

सोही अवधिमा आठ सय ७९ फरार प्रतिवादी पक्राउ गर्न सफल भइएको तिवारीले बताउनुभयो । साथै भन्सार चोरी–निकासीबाट रु नौ करोड ५६ लाख तीन हजारभन्दा बढी रकम राजस्व सङ्कलन गरिएको, ठूलो मात्रामा लागुऔषध जफत, जनकपुरको विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटिभी जडान तथा ६२ वटा मर्मत गराइएको कार्यालयले जनाएको छ ।

गत आवमा एक हजार ९० वटा सवारी दुर्घटना, ७३ जनाको मृत्यु, चार सय पाँचजना गम्भीर घाइते तथा एक हजार तीन सय २० जना सामान्य घाइते भएका प्राप्त विवरणमा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal