Skip to content
Prabhu

यमनमा हुती विद्रोहीमाथि इजरायलको आक्रमण, के भन्छन् मध्यपूर्वका गुटहरु ?

एजेन्सी । तेल अवीवमा भएको ड्रोन आक्रमणको जवाफमा इजरायलले यमनको हुथी विद्रोहीहरूलाई लक्षित गर्दै यमनको अल हुदैदाह बन्दरगाहमा शनिबार ठूलो हवाई हमला गरेको छ ।
हुदैदाह बन्दरगाह ईरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा छ । यस हमलामा कम्तीमा छ जनाको मृत्यु भएको  र आठीभन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीहरूका अनुसार इजरायलले बन्दरगाहमा तेल डिपो र ऊर्जा संयत्रलाई निशाना बनाएको छ ।
हमलाको धेरै घण्टापछि पनि बन्दरगाहबाट आगोका ज्वालाहरु उठिरहेका थिए, जसलाई टाढाबाट पनि देख्न सकिन्थ्यो । इजरायलले हमला हुथी विद्रोहीहरूले तेल अवीवमा गरेको ड्रोन आक्रमणको जवाफमा गरिएको बताएको छ । यस हमलामा एक इजरायली नागरिकको मृत्यु भएको थियो ।
इजरायलबाट  एक हजार आठ सय कलोमिटर टाढा यमनको हुदैदाहमा हमलापछि मध्यपूर्वमा सक्रिय अन्य समूहहरू र ईरान समर्थित समूहहरूले प्रतिक्रिया दिइरहेका छन् ।
लेबनानको हिजबुल्लाहले इजरायलको यस मूर्खतापूर्ण कदमले समूचे क्षेत्रमा जारी अत्यन्त महत्वपूर्ण संघर्षमा एक महत्वपूर्ण मोड आएको बताएको  छ । त्यस्तै इराकको मिलिसिया काताइब हिजबुल्लाहले यी हवाई हमलाहरू यमनका मानिसहरूलाई फलस्तिनीहरूको मजबुत समर्थन गर्नबाट रोक्न गरिएको कायरतापूर्ण प्रयास भएको बताएको छ । त्यस्तै सिरियाली सरकारले पनि इजरायललाई यी हवाई हमलाहरूको सम्भावित परिणामहरूका लागि चेताएको जनाएको छ ।
प्रतिक्रियाहरू दिने यी समूहहरू गत वर्ष सात अक्टोबरमा इजरायल र हमासबीच गाजा क्षेत्रमा युद्ध सुरु भएदेखि नै विभिन्न तरिकाले इजरायलविरुद्ध या त बयान दिइरहेका छन् वा हिंसात्मक कारबाहीमा संलग्न भइरहेका छन् ।
तेल अवीवमा ड्रोन आक्रमण
इजरायलले हुदैदाहको बन्दरगाहमा यो ठूलो हवाई हमला तेल अवीवमा भएको ड्रोन आक्रमणको एक दिनपछि गरेको हो । तेल अवीवमा यो ड्रोन हमला दुर्लभ थियो किनकि एयर डिफेन्स सिस्टमले लैस इजरायलले अधिकांश ड्रोन र मिसाइलहरूलाई हावामै मार गिराउँछ ।
इजरायली सेनाले भनेको थियो कि यमनका सयौं ड्रोन र मिसाइलहरूले इजरायली भूमिलाई निशाना बनाएका थिए, जसको जवाफमा सेनाले फाइटर जेटले हुथी सैन्य ठिकानालाई निशाना बनाएको थियो ।
हुथी विद्रोहीहरूको जवाफ
इजरायलको हमलापछि हुथी विद्रोहीहरूले भनेका छन् कि उनीहरूको समूह कुनै आक्रामकताबाट डराउँदैन र उनीहरूले यस आक्रामकताको जवाफ दिनेछन् । हुथी विद्रोहीहरूका प्रवक्ता मोहम्मद अब्दुलसलामले भनेका छन् कि हुथी विद्रोहीहरूको इजरायलसँग टकराव अब एक यस्तो ‘खुला युद्ध’ हुनेछ जसमा हुथी विद्रोहीहरूले युद्धको कुनै नियमको पालना गर्ने छैनन् ।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अब्दुलसलामले सामाजिक सञ्जालमा लेखेका छन् कि इजरायलले तेल स्टोरेज डिपो र पावर स्टेशनलाई निशाना बनाएको छ। उनले लेखेका छन् कि यी हमलाहरू मानिसहरूको समस्या बढाउन र यमनको गाजाका लागि समर्थनलाई कम गर्नका लागि दबाव बनाउने उद्देश्यले गरिएका हुन् ।
अब्दुलसलामले यो पनि भनेका छन् कि यमनका मानिसहरूविरुद्ध युद्ध सुरु गर्नु इजरायलका लागि सजिलो हुनेछैन । गाजा क्षेत्रमा संघर्ष सुरु भएदेखि नै हुथी विद्रोहीहरूले रातो समुद्रमा इजरायलबाट सामान ल्याइरहेका वा त्यसतर्फ सामान लैजाँदै गरेका जहाजहरूलाई निशाना बनाउँदै धेरै हमला गरेका छन् ।
हुथी विद्रोहीहरूले इजरायलमा सीधा ड्रोन र मिसाइल आक्रमण गर्ने प्रयास पनि गरेका छन् । अब्दुलसलामले हुथी विद्रोहीहरू फलस्तीनी मानिसहरूको समर्थनमा यस्तो गरिरहेका बताएका छन् ।
हिजबुल्लाहको प्रतिक्रिया
लेबनानको शक्तिशाली समूह हिजबुल्लाह पनि गाजा क्षेत्रमा संघर्ष सुरु भएदेखि नै इजरायलको उत्तरमा लेबनानसँगको सीमामा इजरायली सेनासँग लगातार झडपमा लागेको छ ।
यस हमलापछि हिजबुल्लाहले पनि आफ्नो प्रतिक्रिया दिएको छ । यस समूहले भनेको छ कि इजरायलको यो कदम मूर्खतापूर्ण हो । एक बयान जारी गर्दै हिजबुल्लाहले यस हमलाले समूचे क्षेत्रमा जारी संघर्षको नयाँ र महत्वपूर्ण चरण सुरु भएको जनाएको छ ।
हिजबुल्लाहको बयान हुथी समूहको पक्षमा उसको विश्वास देखाउँछ र इजरायलविरुद्ध संघर्षमा उसको भूमिकाको प्रशंसा पनि गर्दछ । उनका अनुसार यमनमा रहेका हुथी ईरान समर्थित यस्तो समूह हो जसलाई उनीहरूले ‘सपोर्ट फ्रन्ट्स’ वा ‘यूनिटी अफ फ्रन्ट्स’ भन्छन् ।
हिजबुल्लाहले इजरायल–हमास संघर्षमा धेरै अन्य ईरान समर्थित समूहहरू पनि विभिन्न मोर्चाहरूमा भाग लिइरहेको बताएको छ । यस बयानको अलावा, हिजबुल्लाहको वेबसाइट अल मनारले एउटा लेखमा तेल अवीवको आकाश यमनका विमानहरूका लागि खुला भएको छ र इजरायली ट्यांकहरू हिजबुल्लाहका हतियारहरूको निशानामा परेको उल्लेख गरेको छ ।
त्यस्तै इराकी मिलिसिया समूह काताइब हिजबुल्लाहले टेलिग्राममा एउटा बयान जारी गर्दै भनेको छ, “इजरायली हमलाहरू यमनका पुरुषहरूलाई फलस्तीनीहरूको मद्दत गर्नबाट रोक्न गरिएको एक दयनीय प्रयास हो ।”
काताइब हिजबुल्लाहले भनेको छ, “यमनका नागरिक इलाकाहरूमा यहूदी इजरायलको हमला केही होइन, बस इजरायलको कन्फ्युजनको प्रमाण हो र यस हमलाबाट इजरायलको आफ्नो अहंकारलाई स्थापित गर्ने प्रयास हो। फलस्तीनीहरूको समर्थनमा लडिरहेका समूहहरूले इजरायलको यसै अहंकारलाई नष्ट गरेका थिए ।”
सिरियाली सरकारले के भन्यो ?
सिरियाली सरकारले पनि इजरायलको यस हमलामा आफ्नो प्रतिक्रिया दिएको छ । सिरियाली सरकार मौखिक रूपमा त ईरान समर्थित समूहहरूको साथ दिन्छ तर आफ्नो पुरानो दुश्मन इजरायलमा सीधा हमला गर्नबाट बच्छ ।
अब सिरियाली सरकारले एक बयान जारी गर्दै हुदैदाहमा हमलाको सम्भावित परिणामहरूबाट इजरायललाई चुनौती दिएको छ । सिरियाली सरकारले आइतबार यी हवाई हमलाहरू मध्यपूर्वको क्षेत्रमा इजरायलको तनाव बढाउने कदम भएको बताएको छ ।
हमलाको आलोचना गर्दै सिरियाली सरकारले हुथी विद्रोहीहरूको प्रशंसा गरेको छ र उनीहरूप्रति समर्थन प्रकट गरेको छ ।
इजरायल सिरियाका क्षेत्रमा पनि हवाई हमला गर्दै आएको छ । इजरायलले सिरियाका भित्र सरकारी सैन्य बलहरू, उसका सैन्य ठिकाना र ईरान समर्थित मानिने लडाकुहरूमा हमला गरेका छन् ।
यस्ता हमलाहरूपछि सिरिया इजरायलको आलोचनामा बयान जारी गर्दै आएको छ । यस वर्ष जुलाईमै सिरिया समर्थक लेबनानी पत्रिका अल–अखबारले सिरियाली सरकारको इजरायलविरुद्धको लडाइँमा सक्रिय नभएकोमा लेख प्रकाशित गरेको थियो ।
पत्रिकाले लेखेको थियो, “यसमा पहिलो दिनदेखि नै सहमति भएको थियो कि सिरिया समर्थक मैदान त हुनेछ तर समर्थक मोर्चा हुनेछैन र इजरायलविरुद्ध कुनै सीधा कदम उठाउनुपर्ने आवश्यकता सिरियालाई थिएन ।”
पत्रिकाले यो पनि भनेको थियो कि सिरियामा अमेरिकी सैन्य अड्डाहरूमा ईरान समर्थित हमलाहरूको न त सिरियाली सरकारले विरोध गर्दछ र न त यी हमलाहरूमा अवरोध खडा गर्दछ ।
हुथी विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले आइतबार साँझमा भनेको छ कि यी हवाई हमलाहरूमा मर्नेहरूको संख्या बढेर छ पुगेको छ भने तीनजना हराइरहेका छन् र आठीभन्दा बढी घाइते भएका छन् ।
इजरायलका एफ–३५ र एफ–१५ विमानहरूले करिब १,८०० किलोमिटरको यात्रा गरी हुदैदाहमा हमला  गरेका छन् ।
इजरायलले यसअघि कहिल्यै पनि हुथी विद्रोहीहरूमा सिधा आक्रमण गरेको थिएन र न त यति लामो दूरीमा हवाई हमला गरेको थियो । यो हमला गर्नु अघि इजरायलको सुरक्षा क्याबिनेटले बैठक पनि गरेको थियो । हमलापछि इजरायली सेनाले एक बयान जारी गर्दै भनेको छ, “सेना जहाँसुकै कारबाही गर्न सक्षम छ र इजरायलीहरूलाई खतरा पार्ने कुनै पनि शक्तिमा हमला गर्नेछ ।”
त्यस्तै इजरायली रक्षा मन्त्री योआव गैलांटले भने, “हुथी विद्रोहीहरूले हामीमाथि २०० भन्दा बढी पटक हमला गरे । पहिलो पटक उनीहरूले कुनै इजरायली नागरिकलाई क्षति पुर्याए, हामीले उनीहरूलाई हमला ग¥यौं । र, हामी त्यस्तो जहाँसुकै गर्नेछौँ, जहाँ आवश्यक हुनेछ ।”
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal