Skip to content

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

जलस्रोत तथा सिँचाइ विभागले आज आयोजना गरेको ‘चौथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठी’मा बोल्दै उनले आयोजनाको गुणस्तरलाई ध्यान दिइ समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘राष्ट्रिय गौरवका आयोजना भन्ने तर आयोजना सम्पन्न गर्न ३०/३५ वर्ष लाग्ने ? गौरवको आयोजनालाई गौरवयोग्य बनाउनुपर्छ,’ मन्त्री खड्काले भने । उनले धेरै क्षेत्रमा बजेट बाँडफाँट गरेर काम नहुनुभन्दा एउटै आयोजनालाई सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मन्त्री खड्काले एउटै आयोजनामा तीनै तहको सरकारको बजेट पर्ने गरेको भन्दै त्यसो हुन नदिन अन्तरसरकारसँग सहकार्य गर्नुपर्ने उल्लेख गरे । उनले कर्मचारीलाई निर्भिक ढङ्गले इमान्दार भएर काम गर्न आग्रह गरे । ‘म दुर्घटना नगरी मन्त्रालयको ड्राइभिङ गर्छु, तपाईंहरु पाटपुर्जा ठीक ठाउँमा राख्नूहोस्,’ मन्त्री खड्काले भने ।

उनले जलस्रोत तथा सिँचाइ विभाग किसानसँग प्रत्यक्ष जोडिएकाले किसानलाई राहत र सहुलियत प्रदान गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुर्याउन लागेको समय हेरेर आगामी योजना चाँडो सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री खड्काले आयोजना अगाडि बढाउँदा प्रविधि, आधुनिकीकरणको समस्या र कामदारको समस्यालाई हेर्नुपर्ने बताए । उनले हिमाल, पहाड र तराईमा सिँचाइको समस्या भिन्दाभिन्दै रहेकाले त्यसलाई सम्बोधन हुनेगरी विभागले काम गर्नुपर्ने उल्लेख गरे ।

सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले चैते धानको उत्पादन बढाउन आवश्यक सिँचाइलाई विभागले प्राथमिकतामा राखेको बताए । उनले विभागको पहलमा हाल देशभर १५ लाख ६९ हजार हेक्टरमा सिँचाइ व्यवस्थापनका लागि पूर्वाधार निर्माण गरे पनि अझै १० लाखभन्दा बढी हेक्टर जमीनमा सिँचाइका लागि पूर्वाधार बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

विभागले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत महाकाली सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइँ आयोजना, भेरी–बबई डाइभर्सन आयोजना, सुनकोशी–मरिन डाइभर्सन आयोजना र रानी–जमरा–कुलरिया सिँचाइ आयोजनामार्फत देशभर दुई लाख ८७ हजार पाँच सय ८६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुनेगरी छ वटा आयोजना अगाडि बढाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्