भोजपुर । भोजपुरका २२ सय बढी घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले आर्थिक वर्ष २०८०र८१ मा विद्युतीकरणले यहाँका दुई हजार दुई सय १९ घरधुरीमा विद्युत्को पहुँच पुर्याइएको जनाएको छ ।
केन्द्र प्रमुख रामबाबु चौधरीले सदरमुकामबाट सुदूरउत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–१ को बुमलिङका एक सय ५० घरसहित दुई हजार दुई सय बढी घरमा विद्युत्को पहुँच पुगेको बताए। उनले भने, ‘दुर्गम ठाउँमा विद्युत्को पहुँच पुर्याउने उद्देश्यअनुसार सो क्षेत्रमा पनि विद्युत् विस्तार गरिएको हो, यसबाट अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।’
वर्षौदेखि बत्तीविना अध्यारोमा बस्न बाध्य ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमा विद्युत् पुगेपछि राहत मिलेको छ । घरमा पहिलो पटक विद्युत्को सुविधा पुगेकामा खुसी हुँदै लालबहादुर भुजेलले भने, ‘वर्षौदेखि विद्युत्को अभावमा कुपी र मैनबत्तीको भरमा बस्नुपरेको थियो, विद्युत् पुगेपछि हाल त्यो बाध्यता हटेको छ । अब हामीलाई सहज भएको छ ।’ उनले मात्र होइन यहाँ बत्तीको पहुँच पुगेका सबै नागरिक उत्साहित छन् ।
प्राधिकरणका प्रशासन प्रमुख शान्तिलाल खतिवडाले भने, ‘जिल्लाका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम भइरहेको छ, बाँकी रहेका स्थानीय तहमा पनि विद्युत्को पहुँच पु¥याउन यस नयाँ आवमा पनि बजेटअनुसार निरन्तर काम हुनेछ ।’
भोजपुर जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हालसम्म करिब ८६ प्रतिशत घरमा विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि कार्यअघि बढेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका सुपरभाइजर दुर्गानन्द चौधरीले बताए। जिल्लामा हाल राष्ट्रिय प्रशारण लाइनबाट करिब २६ हजार बढी घरधुरीले विद्युत् सेवा उपयोग गरिरहेका छन् ।
जिल्लामा अहिले दुईवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् । जसबाट उत्पादित १३ मेगावाट बिजुली पनि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
प्रतिक्रिया दिनुहोस्