Skip to content

कोरोना बीमा गराएकाहरुको भुक्तानी गर्न सरकार सकारात्मक, दशैंअघि नै १० अर्ब भुक्तानी हुने अर्थमन्त्रीको आश्वासन

nabil bank

काठमाडौं । कोरोना बीमा गराएका बिमितहरुले दशैँअघि नै बीमा रकमको दाबी भुक्तानी पाउने भएका छन् । सकारले कोरोना बीमाको रकम भुक्तानी दशैँभन्दा अघि नै भुक्तानी गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका हुन् ।

अर्थमन्त्री नियुक्त भएपछि बधाई दिन पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँगको छलफलका क्रममा कोरोना बीमा भुक्तानी दशैँभन्दा अघि नै हुने बताए । अर्थमन्त्री पौडेलले निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलका क्रममा कोरोना बीमाको भुक्तानीका लागि सरकारले १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिने बताएका हुन् । अहिले कोरोना बीमाको दाबी भुक्तानीको काम रोकिएको अवस्था छ ।

सरकारले २०७९ को संसदीय निर्वाचिनअघि कोरोना बीमाबापतको १ अर्ब रुपैयाँ रकम उपलब्ध गराएको थियो । त्यसपछि भने कुनै रकम भुक्तानी भएको छैन । सोही कुरा उनले निर्जीवन बीमा कम्पनीका सीईओहरुसँग पनि दोहो¥याएका हुन् ।

उनले कोरोना बीमाका कारण सर्वसाधारण व्यक्तिको बीमाप्रतिको धारणा नै नकारात्मक हुने गरी आलोचना भएको भन्दै तत्कालै उपयुक्त निष्कर्षमा पुग्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘कोरोना बीमितले आफ्नो दाबीबापतको रकम छिट्टै पाउनु हुनेछ, त्यसबारे अर्थ मन्त्रालय छिट्टै निष्कर्षमा पुग्दैछ, अर्थमन्त्री पौडेलले भने ।

‘कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौँ,’ उनले भने । कोरोना बीमा पोलिसी बेचे वापत ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी दायित्व सिर्जना भएमा सम्पूर्ण दायित्व नेपाल सरकारले व्यहोर्ने निर्णयमा तत्कालीन अर्थ सचिव शिशिर ढुंगानाले २०७७ साल साउन १६ गते सचिवस्तरीय निर्णय गर्दै हस्ताक्षर गरेका थिए । सोही आधारमा साउन १८ गते कम्पनीले सोही निर्णयका आधारमा नेपाल सरकारलाई पुनर्बीमक मान्दै कोरोना बीमाको पोलिसी पुनः जारी गरेका थिए ।

कोरोना बीमाको संसोधित मापदण्ड अनुसार दावी भुक्तानी दायित्वमा १ अर्ब रुपैयाँसम्म बीमा कम्पनीहरुले तिर्ने, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीले तिर्ने, २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म कम्पनीहरुको महाविपत्ति कोषबाट र २ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी दायित्व बीमा प्राधिकरणले तिर्ने उल्लेख छ ।

३ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको नेपाल सरकारले ब्यहोर्ने सो मापदण्डमा उल्लेख छ । अहिले एक लाख ४० हजार भन्दा बढी बिमित कोरोना बीमाको दाबी भुक्तानी कुरिरहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime